जनकपुरधाम,१९असाेज: मधेस प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएर सातौं पटक मन्त्रीपरिषद पुनर्गठन गरेको छ ।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपिएको हो ।
उक्त मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाइएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।
तर मुख्यमन्त्री सराेजकुमार यादवले मनपरी ढंगले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट बनेको छ । बुधबारको समेत क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्री यादवले चोरबाटोबाट त्यसो गरेको जनमतका मन्त्री महेश प्रसाद यादवले दावी गरे ।
‘क्याबिनेट बैठकमा म पनि थिएँ । मन्त्रालय फोड्ने र कार्यविभाजको प्रस्ताव आएकै थिएन’, उनले भने, ‘मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ । कसरी गर्नुभयो उहाँलाई नै थाहा होला । गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन ।’
जनमत पार्टीले छलफल गरेपछि मात्र मन्त्रालयको पदभार ग्रहण गर्ने की नगर्ने निर्णय लिने उनले बताए ।साभार:अनलाइनखबरबाट

