Madhes Khabar
राजनीति

देउवालाई भेटेर कोइरालाले भने– ‘तपाईं नसच्चिए अब सहकार्य हुँदैन’

फाइल फोटो

काठमाडौं,३असाेज: नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेका थिए । बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब पौने घण्टा कुराकानी भएको थियो ।

छलफलमा उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसमेत सहभागी थिए । त्यस क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रुपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ,’ भेटमा नेता कोइरालाले देउवालाई भनेको उद्धृत गर्दै कोइरालानिकट एक नेताले भने, ‘तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए । त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भनेका थिए ।

नेता कोइरालाले सभापति देउवाले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै आक्रोस् पोखे । ‘तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर तपाईं रोकिनुभएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन,’ कोइरालाले भनेको उद्धृत गर्दै ती नेताले भने ।

जवाफमा सभापति देउवाले मिलाएर गर्ने भनेका थिए । ‘तपाईं त्यसरी रिसाउनुभएन । मिलाएर गर्ने हो । म गरिहाल्छु । ठीक हुन्छ,’ देउवाले भनेका थिए ।

सभापति देउवाले बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकअघि नेता कोइरालाले बैठकका अजेन्डाबारे मंगलबार आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।साभार:ईकान्तिपुरबाट

Related posts

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

MadhesKhabar

देउवालाई कांग्रेस सांसद सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

MadhesKhabar

Leave a Comment