Madhes Khabar
राजनीति

देउवालाई भेटेर कोइरालाले भने– ‘तपाईं नसच्चिए अब सहकार्य हुँदैन’

फाइल फोटो

काठमाडौं,३असाेज: नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेका थिए । बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब पौने घण्टा कुराकानी भएको थियो ।

छलफलमा उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसमेत सहभागी थिए । त्यस क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रुपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ,’ भेटमा नेता कोइरालाले देउवालाई भनेको उद्धृत गर्दै कोइरालानिकट एक नेताले भने, ‘तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए । त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भनेका थिए ।

नेता कोइरालाले सभापति देउवाले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै आक्रोस् पोखे । ‘तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर तपाईं रोकिनुभएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन,’ कोइरालाले भनेको उद्धृत गर्दै ती नेताले भने ।

जवाफमा सभापति देउवाले मिलाएर गर्ने भनेका थिए । ‘तपाईं त्यसरी रिसाउनुभएन । मिलाएर गर्ने हो । म गरिहाल्छु । ठीक हुन्छ,’ देउवाले भनेका थिए ।

सभापति देउवाले बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकअघि नेता कोइरालाले बैठकका अजेन्डाबारे मंगलबार आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।साभार:ईकान्तिपुरबाट

Related posts

सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

MadhesKhabar

प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन दलहरुलाई निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment