
काठमाडौं,११ भदौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद अब्दुल खान समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो ।
दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए ।
तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो । तर निर्वाचनअघि उनले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।

