Madhes Khabar
खेलकुद

इंग्ल्यान्ड पहिलोपल्ट विश्वकप फुटबलको फाइनलमा

वीरगन्ज,३१साउनः इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार साँझ भएको दोश्रो तथा अन्तिम सेमिफाइनल खेलमा सहआयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।

यसअघि इंग्ल्यान्ड लगातार दुई संस्करण सन् २०१५ र सन् २०१९ मा सेमिफाइनलमा पुगेपनि टोली त्यसभन्दा अघि बढ्न सकेको थिएन । २०१५ मा तेस्रो भएको इंग्ल्यान्ड २०१९ मा चौथो भएको थियो ।

अष्ट्रेलियाको सिड्नीमा बुधबार भएको दोश्रो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्न इंग्ल्यान्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् । अष्ट्रेलियाको लागि कप्तान सामन्था खेरले एक गोल फर्काइन् ।

अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा हुने फाइनल खेलमा स्पेनको सामना गर्नेछ । स्पेनले मंगलबार स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

सह–आयोजक अष्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानको लागि स्वीडेनसँग खेल्नेछ । २० जुलाईबाट अष्ट्रेलिया र न्युजिल्यान्डको विभिन्न स्थानमा भएको विश्वकपमा ३२ टोलीको सहभागिता छ ।

Related posts

एनपीएलमा पहिलो शतक आन्द्रेसको नाममा,पोखरासंग लुम्बिनी १० विकेटले पराजित

MadhesKhabar

ठाेरीमा दसैंकप फुटबल : प्रतिभा र वनशक्ती युवा क्लब विजयी

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

Leave a Comment