Madhes Khabar
कृषि हेडलाइन

चिनी मिल चलाउन माग गर्दै किसानहरुले गरे प्रदर्शन

रौतहट, २२ साउन : रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन र मिल बिक्रीको लिलामी टेन्डर खारेजीको माग गर्दै उखु उत्पादक संघ रौतहटले सोमबार सदरमुकाम गौरमा ¥याली निकालेको छ ।

हातमा उखुको बोट बोकेर सदरमुकाम गौर पुगेका जिल्लाभरका किसानले जिल्ला प्रशासन कार्यालयमा पुगेर चिनी मिल सञ्चालन र मिल बिक्रीको टेन्डर रद्द गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । झण्डै दुई वर्षदेखि बन्द रहेको गरुडाको चिनी मिल व्यवस्थापन पक्षले बिक्री गर्न लागेको भन्दै संघले रोक्न पहल थालेको छ ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले घाटा देखाएर ब्यवस्थापन पक्षले बन्द गरेको चिनी मिल लिलाम बिक्री गर्न लागिएकाले सञ्चालन गर्न ज्ञापन पत्र बुझाइएको बताए । ‘बर्सेनि घाटा भन्दै सञ्चालकले मिल बन्द गरेर चुप बसेका छन्, अब बेचेर उम्कन्न खोज्दैछन् ’ उनले भने, ‘मिल सञ्चालन गर्न पहल भइरहेका बेला नेपाल बैंकमार्फत लिलामीबाट बेच्ने जानकारी पाएपछि रोक्न पहल थालेका हौं ।’

उखु उत्पादक संघ, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाका प्रतिनिधि श्रीराम सुगर मिल्सलाई बिक्री हुनबाट जोगाउन भन्दै सदरमुकाम गौर पुगेका थिए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संघले बुझाएको ज्ञापन पत्र माथिल्लो निकायमा पठाउने बताए ।

बर्सेनि घाटा ब्यहोर्नु परेको भन्दै झण्डै दुई वर्षदेखि बन्द श्रीराम सुगर मिलको अवस्था बुझ्न गत वर्ष नै संघीय संसदको श्रम हित उपभोक्ता तथा उद्योग समितिको टोली रौतहट आएर फर्केको थियो । करोडौंको घाटा भएको जनाउँदै व्यवस्थापन पक्षले २०७७ साउन १० गतेबाट मिल बन्द गरेको हो ।
व्यवस्थापनले बारम्बार सूचना जारी गर्दै उद्योगले हरेक वर्ष करोडौं घाटा ब्यहोर्दै आएको र वर्तमान परिस्थितिमा उद्योगमा कार्यरत श्रमिक कर्मचारीलाई न्यूनतम पारिश्रमिक तलब भत्ता, दिन समेत आर्थिक अभाव रहेको बताउँदै आएको थियो । मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा ब्यहोरेको जनाएको छ ।साभार : इकान्तिपुर

 

Related posts

विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम

MadhesKhabar

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

सडकमा प्रदर्शन गर्दै वीरगन्जका डाक्टरहरुले भने : कि सुरक्षा दे, कि विदेश जाने भिसा दे

MadhesKhabar

Leave a Comment