Madhes Khabar
स्थानिय

बारामा प्रहरीलाई आक्रमण गरी स्थानीयले भगाए बन्दुक सहित पक्राउ परेका अभियुक्त

बारा, १६ साउन : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीमा हतियार र जंगली जनावरको दाँतसहित पक्राउ परेका एक अभियुक्तलाई स्थानीयवासीले प्रहरीमाथि नै आक्रमण गरी भगाएका छन् ।

भरुवा बन्दुक र जनावरको दाँतसहित पक्राउ परेका स्थानीय ३५ वर्र्षीय सागर लामालाई स्थाननीयबासीले प्रहरीमाथि आक्रमण गरि भगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्थानीयबासीले प्रहरीलाई आक्रमण गरेपछि झडप भएको र प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको थियो । आक्रमणमा परी प्रहरी वरिष्ठ नायब निरीक्षक पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी घाइते भएका छन् ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार टाँगिया बस्तीमा हातहतियार र ओखेटोपहार सहित शिकारी बसेको छ भन्ने सूचना पाएपछि मंगलबार बिहान ५ बजे नै प्रहरी निरीक्षक सहित १५ जनाको टोलीले हतियार सहित लामालाई पक्राउ गरेको थियो। वडाध्यक्षको उपस्थितिमा बरामद सामानको मुचुल्कासमेत गरिएको थियो।

बोगटीका अनुसार , प्रहरीले मंगलबार बिहान लामाको घरमा छापा मारेर भरुवा बन्दूक, बन्दूकको छर्रा, बारूद, जंगली जनावरको दाँत सहितका सामान बरामद गरेको थियो। बरामद गरिएको सामान सहित लामालाई नियन्त्रणमा लिएर प्रहरीले निजगढतर्फ लैजाँदै गर्दा बाटोमै करीब दुई सयको संख्यामा रहेका स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरी लामालाई भगाएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

अभियुक्त लामा र घटनामा संलग्नहरुको खोजतलास भइरहेको बोगटीले बताए ।

 

Related posts

प्रेस युनियन पर्साको साधरणसभा भदौं २८ मा हुने

MadhesKhabar

पर्साका एसपी मिश्र मधेस प्रदेशमै उत्कृष्ट घोषित

MadhesKhabar

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योगमन्त्रीलाई वीरगन्जका मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment