वीरगन्ज, २५ असार : वीरगन्जकाे सुरजीदेवी माध्यमिक विद्यालयका ४ जना शिक्षक कारबाहिमा परेका छन् ।
साेमबार वीरगन्जका मेयर राजेशमान सिंह अनुगमनका क्रममा विद्यालयमा पुग्दा जानकारी बिना नै अनुपस्थित रहेको भेटिएपछि ४ जना शिक्षकलाई कारबाहि स्वरुप स्पष्टिकरण माग गरिएको छ ।
सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरपालिकाले अनुगमनलाई तिब्र पारेको छ ।
विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महानगरपालिकाकाे शैक्षिक महाशाखामा पेश गर्न निर्देशन दिइएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
मेयर सिंहले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुख कर्णलाई निर्देशन समेत दिए ।
अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उनले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिए ।

