Madhes Khabar
राजनीति

पहाडबाट चुनाव जितेर देखाउने एक मधेसी युवाकाे अठाेट

काठमाडौँ,१८असार: अशोक झा सोलुखुम्बु जिल्लाको तरुण दलको अध्यक्ष हुँदा धेरैले भन्थे, ‘के सोलुमा अरु कोही नेता थिएनन् र एक मधेसीलाई अध्यक्ष बनाइयो !’ उनै झा अहिले तरुण दलको केन्द्रीय सदस्यको पहिलो नम्बरमा मनोनीत भएका छन् ।

सोलुखुम्बुको नेचासल्यान– २ दोदीमा एउटा मात्रै झा परिवार छ । ०३५ सालतिर सप्तरीका रामनारायण झा मास्टरी गर्न सोलु पुगेका थिए । सप्तरीमै विवाह गरेका रामनारायणले सोलुमा मास्टरी गर्दागर्दै दोस्रो बिहे गरे । अशोक जेठीपट्टिका सन्तान हुन् तर सोलुमै जन्मे–हुर्केका ।

रामनारायण अहिले दूधकोशी बहुमुखी क्याम्पसका प्रिन्सिपल छन् । जिल्लामा धेरैले उनलाई ‘रामनारायण सर’ भनेर चिन्छन् । ‘गाउँमा मेरो बुवालाई धेरैले ज्वाइँसाप भनेर माया गर्छन्,’ अशोक भन्छन्, ‘तर जब राजनीतिक अवसरका कुरा आउँछन्, अनि सप्तरीको मधेसीलाई सोलुमा कसरी जिताउने भनी साइड लगाउँछन् ।’

उनका बुवाले पनि नेपाल शिक्षक संघ सुलोको अध्यक्ष भएर काम गरेका थिए । कांग्रेसको राजनीति पनि रामनारायणका लागि फापेन । काङ्ग्रेस १२ औँ महाधिवेशनमा रामनारायणले महाधिवेशन प्रतिनिधिका लागि सोलुबाट उम्मेदवारी दिएका थिए, मधेसी भएकै कारण निर्वाचित हुन सकेनन् ।

जब महाधिवेशन प्रतिनिधिमा बुवा हारे, अशोकको चित्त दुख्यो । उनले आफैँलाई प्रश्न गरे — आफ्नो ठाउँ छाडेर यत्रो वर्ष बुवाले यहाँ समाज सेवा गर्नुभयो, काङ्ग्रेस पार्टीप्रति आस्था राख्नुभयो, तैपनि किन पत्याउँदैनन् ? यसपछि आफैँ राजनीतिमा उदाउने र स्थापित हुने सङ्कल्प उनले लिए ।

सुरुमा उनलाई राजनीतिप्रति कुनै चासो थिएन । २०५२ मा एसएलसी पास गरी उनी उच्च शिक्षाका लागि काठमाडौँ आए । आइए गरेपछि प्रहरीमा असई हुने कोसिस गरेका थिए, सफल भएनन् ।

पढाइलाई निरन्तरता दिँदै काठमाडौँमै केही गर्ने सोचमा थिए उनी, यता देशमा माओवादी जनयुद्ध चलिरहेको थियो । उनका बुवालाई माओवादीले अपहरण गर्‍यो, बुवालाई छुटाउन उनी सोलु फर्के ।

‘सुरुमा माओवादीसँग निकै डर लाग्थ्यो, बुवा अपहरणमा परेपछि डरै हरायो,’ उनी भन्छन्, ‘म दोदीमा माओवादीसँग जुध्न थालेँ, लामो संघर्षपछि बुवालाई मुक्त गराउन सफल भएँ ।’ त्यसपछि नै राजनीतिप्रति उनको रुचि जाग्न थालेको थियो ।

बुवाका कारण काङ्ग्रेसका नेता तथा कार्यकर्तासँग उनको थोरबहुत चिनजान थियो । अर्कोतिर त्यहाँका स्थानीय युवाले अशोकलाई निकै मन पराउँथे । त्यसलाई क्यास गर्दै उनले स्थानीय तहदेखि राजनीतिमा आफ्नो ठाउँ बनाउन थाले ।

काङ्ग्रेस नेता बलबहादुर केसीको गाउँका हुन् अशोक । केसीसँग पनि उनले हिमचिम बढाउन थाले । केसीले आफ्नो फुपूका छोरा केदारभक्त कार्कीलाई तरुण दलको जिल्ला अध्यक्ष बनाएका थिए । ५२–५३ वर्षका केदारभक्त कसरी तरुण दलको अध्यक्ष कसरी हुन सक्छन् ? अशोकले प्रश्न गरे ।

यो कुरा उनले बलबहादुरलाई पनि भनेका थिए । केसीले उनका कुरालाई भाउ दिएनन् । उनलाई केसीले एउटा सामान्य कार्यकर्ताको जस्तो व्यवहार गरिरहेका थिए । त्यतिबेला तरुण दलका अध्यक्ष थिए, उदयशमशेर राणा । उदयशमशेरको नजिक हुन पनि अशोकले निकै प्रयास गरे, तर सफल भइरहेका थिएनन् ।

दोस्रो संविधानसभा चुनाव (२०७०)मा बलबहादुर केसी आफ्नो चुनावी क्षेत्रमा कार्यक्रम गरिरहेका थिए । पार्टीकै केही युवा नेता नारा लगाए — बलात्कारी, भ्रष्टाचारी नेता… ।

यो देखेर अशोकलाई झोँक चढ्यो । ‘यस्तो कहीँ हुन्छ, आफ्नो पार्टीका नेतालाई खुलेयाम यसरी गाली गर्न पाइन्छ’ भन्दै ती युवा नेतामाथि जाइलागे । भागाभाग भयो, कार्यक्रम नै बिथोलियो । त्यही साँझ बलबहादुरले अशोकलाई बोलाएर भने, ‘मैले त यो मधेसको केटाले यहाँ के नै गर्न सक्छ भन्ठानेका थिएँ, तपाईं त साह्रो हिम्मतिलो जोसिलो हुनुहुँदो रहेछ । अब तपाईंले मलाई साथ दिनुपर्छ । तपाईंका लागि के के गर्नुपर्छ, सबै गर्छु ।’

त्यही दिन बलबहादुरले तरुण दलका अध्यक्ष उदयशमशेर राणालाई फोन गरेर भने, ‘यो अशोक झा भन्ने भाइ साह्रै माई डियर मान्छे रहेछ, हामीलाई चाहिने व्यक्ति रहेछ । यसलाई हामी आफ्नो साथमा राखेर देशैभर घुमाउनुपर्छ, यसलाई छिटो सोलुको कार्यवाहक अध्यक्ष बनाइदिनुस् ।’

बलबहादुरले आफ्नै फुपूको छोरालाई अध्यक्षबाट हटाएर अशोकलाई कार्यवाहक अध्यक्ष बनाए । एउटा भर्खरको मधेसी केटालाई कार्यवाहक अध्यक्ष बनाइयो भनेर जिल्ला भरका पार्टी कार्यकर्ताले उनको विरोध गरे । दुई–चार दिनको विरोध आफैँ सेलायो, पछि उनीहरू नै अशोकको फ्यान बन्न पुगे ।

अशोक भन्छन्, ‘म मधेसी समुदायको, मधेसबाट हिमाल चढेको, तर आफू मधेसी हुँ भन्ने मलाई कहिल्यै महसुस भएन । जहिले पनि म आफूलाई नेपाली ठान्थेँ, तर बेलाबेला मधेसी भनेर सोलुवासीले सप्तरीको याद दिलाइदिन्थे ।’ २०७२ मा भएको अधिवेशनबाट उनी अध्यक्ष भए ।

०७२ सालमै भएको पार्टीको १३ औं महाधिवेशनका लागि सुलोबाट उनी पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भए । १२ औं महाधिवेशनमा बुवाले महाधिवेशन प्रतिनिधि हारेको अशोकले बदला लिए । १४ औं महाधिवेशनमा पनि जनताजितको बाहुल्यता रहेको सोलुमा अशोक पुनः महाधिवेशन प्रतिनिधि बन्न सफल भए ।

काठमाडौँमा उनी सभापति शेरबहादुर देउवा गुटका हुन्, तर जिल्लामा बलबहादुर केसीलाई नेता मान्छन् । उनी भन्छन्, ‘केन्द्रमा म शेरबहादुर देउवालाई मान्छु, जिल्लामा बलबहादुरलाई, किनभने जहाँ जसको महत्त्व छ, त्यहाँ त्यसलाई म सम्मान गर्छु । यो कुरा दुवैजनालाई थाहा छ ।’

तरुण दलमा अशोक यति प्रिय भए कि केन्द्रदेखि जिल्लासम्म सबैले मन पराउन थाले । उदयशमशेर अर्थराज्यमन्त्री हुँदा उनले अशोकलाई आफ्नो सचिवालयमै राखेका थिए । बलबहादुरले पनि उनलाई आफैँसँग राख्न चाहेका हुन्छन् । मधेसको केटो सोलु गएर यसरी छलाङ मारेका छन्, तरुण दलको केन्द्रीय अध्यक्ष बन्ने हैसियत बनाइसकेका छन् ।

कहिलेकाहीँ उनी सप्तरी पनि जान्छन् । अचेल उनकी आमा र एकजना भाइ सप्तरीमा बस्छन् । उनीहरू पनि कहिलेकाहीँ सोलु आउँछन् । पहिले उनका भाइ पनि सोलुमै बस्थे, पछि उनलाई सप्तरीमै बस्न मन लाग्यो । राजनीतिका लागि अशोकले सोलु रोजे । उनलाई सप्तरीको पनि माया लागेर आउँछ । ‘मधेसी भएकामा मलाई कुनै पश्चाताप छैन । कहिले त्यसले मलाई फाइदा दिएको छ, कहिले घाटा । राजनीतिमै लागेर मैले सोलु र सप्तरीबीच जुन खाडल छ, त्यसलाई पुर्ने प्रयास गर्नेछु,’ अन्त्यमा उनले भने, ‘मधेसबाट थुप्रै पहाडी नेताले चुनाव जितेका छन् । मैले पहाडबाट मात्र होइन, हिमाली जिल्ला सोलुखुम्बुबाट चुनाव जितेर देखाउँछु ।’

अशोकले २०१५ सालको पहिलो आमचुनावमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले गरेको बाचा पढे, सुनेका छन् । पन्ध्र सालमा सिराहा पश्चिम (क्षेत्र नम्बर ४)बाट तराई कांग्रेसका वेदानन्द झा उम्मेदवार थिए भने नेपाली कांग्रेसका माधवप्रसाद रेग्मी ।

मधेसवादी क्षेत्रीय पार्टीका उम्मेदवार वेदानन्दले पहाडीलाई मधेसमा उम्मेदवार बनेको भन्दै चुनावी मुद्दा बनाएका थिए । ‘पहाडमा त एउटै मधेसी उम्मेदवार छैनन् नै, अब मधेसमै पनि पहाडिया उम्मेदवार बनाएपछि मधेसीले कहाँबाट जित्ने ?’ यस्तै आशयको उनको चुनावी अभियान थियो । जवाफमा बिपी कोइरालाले आगामी चुनावमा पहाडबाट मधेसी उम्मेदवार उठाएर जिताउने जिम्मा लिए ।

बिपीले यसपालिका लागि रुखमा मतदान गरेर रेग्मीलाई जिताउन पनि अपिल गरे । बिपीको प्रतिबद्धतालाई मतदाताले विश्वास गरे । तर, बिपीका लागि पहाडबाट मधेसीलाई चुनाव जिताउने असर जुरेन ।दुईतिहाइको सरकार गठन गरेको १७ महिनामै अपदस्त भएकाले बिपीले त त्यो ‘प्रतिबद्धता’ पूरा गर्ने मौकै पाएनन्  । बिपीले जन्माएको पार्टी कांग्रेसले भने अहिलेसम्म मधेसीलाई पहाडमा टिकट समेत दिएको छैन । तर, बिपीको सपना र मधेसी जनतालाई दिएको बाचा पुरा गराउने अशोकमा अठोट देखिन्छ ।एसके यादव/राताेपाटी

Related posts

एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार

MadhesKhabar

वीरगन्जमा राष्ट्रपति विरुद्ध जसपाको प्रदर्शनः सडकमा टायर बालेर नाराबाजी

MadhesKhabar

पर्सामा जसपा नेपालबाट निर्वाचित ५ जना वडा सदस्यहरू जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment