वीरगन्ज, ४ असार : नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्ज च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न एनवाइइएफ वीरगन्ज च्याप्टरको तेस्रो साधारणसभाले सर्वसहमतिबाट सन्दीप अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
होटल लर्ड्स दियालो प्लाजामा आयोजित साधारणसभाले आगामी वर्ष २०८०/८१ को कार्यकालका लागि अग्रवालको नेतृत्वमा गठन गरेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल र दृतिय उपाध्यक्षमा विश्वास प्रताप साह चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा विकास ठाकुर, अक्षत शाह, मनिषा सुनुवार श्रेष्ठ, मोहित गुप्ता, दीपल खन्ना, किसन केयाल, सूरज रुङ्ग्टा, चन्दन सिंह र राधा हमाल चयन भएका छन् । च्याप्टरको आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ ।
निवर्तमान अध्यक्ष राकेश साहलाई पनि एनवाइइएफको प्रावधानअनुसार कार्यसमिति सदस्यमै राखिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए । त्यसैगरी च्याप्टरको सल्लाहकार समितिमा एनवाइइएफ वीरगञ्जका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, पूर्वअध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिषकुमार लाठलाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सन्दीप अग्रवालले सिकाइमार्फत सदस्यहरुको नेतृत्व र उद्यमशीलता विकास गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो नेतृत्वबाट प्राप्त सिकाइलाई लागू गर्दै आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने आफ्नो योजना सुनाउँदै उनले भने, ‘नयाँ र पूराना सदस्य विचको सम्बन्धलाई प्रगाढ बनाउने किसिम गतिविधिलाई मैले प्राथमिकतामा राख्ने छु, एक अर्कासँग सिक्दै नेतृत्व र उद्यमशीलता विकास गरेर आफ्नो व्यवसाय र उद्यममा योगदान गर्न सक्ने किसिमको माहोल बनाउने मेरो प्रयास रहन्छ ।’
त्यस्तै देशका अन्य स्थानमा रहेका एनवाइइएफ च्याप्टरसँग सम्बन्ध विस्तार, नेपाल उद्योग वाणिज्य महासङ्घ, वीरगन्ज उद्योग वाणिज्य सङ्घ, व्यापार तथा निकास प्रवर्द्धन केन्द्र, भन्सार कार्यालय, आन्तिरक राजश्व कार्यालय, वीरगन्ज महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहसँगको सहकार्यमा पनि सिकाइका कार्यक्रमको आयोजना गर्दै उनीहरुसँगको सम्बन्धलाई थप मजबूत बनाउने आफ्नो योजनाका रहेको अग्रवालले सुनाए ।
यस्तै स्थानीय स्तरमा वित्तीय, सञ्चार संस्था र अन्य सङ्घ संस्थाहरुसँग पनि समन्वय गरेर कार्यक्रमको आयोजना गरिने उनले बताए । ‘विगतका तिन वर्षमा एनवाइइएफले प्राप्त गरेको पहिचानलाई थप उँचाईमा पुर्याउने मेरो प्रयास रहने छ,’ अग्रवालले भने । आगामी दिनमा एनवाइइएफ वीरगन्जले जिम्मा पाएको वीरगन्ज रात्री बजार जस्ता कार्यक्रमलाई थप व्यवस्थित ढङ्गले आयोजना गर्दै सहभागिता बढाइने उनले बताए ।
अग्रवालले सङ्घीय सरकारले अगाडि सरेको मेड इन नेपाल अभियानसँग एनवाइइएफको भिजन मिल्दोजुल्दो भएको बताउँदै भने, ‘कोभिड-१९ महामारीका कारण तयारी गरेर पनि आयोजना गर्न नसकिएको मेड इन नेपाल कार्यक्रम आफ्नो कार्यकालमा गर्ने म प्रयासरत रहनेछु । त्यसकासाथै स्टार्टअप कल्चरको विकास, नयाँ उद्यमीहरुको पहिचान, लगानीको अवसर सृजना गर्ने किसिमका कार्यक्रमलाई मैले प्राथमिकतामा राख्ने छु ।’
एनवाइइएफका वीरगन्जका प्रथम अध्यक्ष अनुप अग्रवाल र निवर्तमान अध्यक्ष राकेश साहको कार्यकाल सफल भएको बताउँदै उनले थपे, ‘पहिलो वर्षमा हामीले विभिन्न सरकारी, निजी र गैह्र सरकारी सङ्घसंस्थासँगको समन्वयमा कार्यक्रमको आयोजना गरेर एनवाइइएफ वीरगञ्जको पहिचान स्थापना गर्दै सम्बन्ध विस्तार गर्यौं भने दोस्रो कार्यकालमा पहिलो वर्षको पहिचानलाई थप उँचाईमा पुर्याउन सफल भयौं ।’
एनवाइइएफका निवर्तमान अध्यक्ष राकेश साहको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रमुख आतिथ्यता गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी, एनवाइइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष साहारा जोशी, दृतिय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, एनजीसी सदस्य कृष्ण सापकोटा, नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, वीरगन्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगपति एवम् अर्थविद् जगदीश अग्रवाल, वरिष्ठ उद्योगपति रमेश अग्रवाल, लायन्स क्लबका देवकी नन्दन अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक कोमल शाहलगायतको उपस्थिति रहेको थियो ।

