
काठमाडौं , २८ जेष्ठ : भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।इंग्ल्याण्डको द ओभल क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भएपछि अष्ट्रेलियाले उपाधी जितेको हो ।
पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले दोश्रो पारीमा ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।
पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग परासिजत भएको हो ।
टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।
यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएको छ । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् । साभार : अनलाइनखबर

