वीरगन्ज,२०जेष्ठ:आइतबारदेखि सुरु आइसीसी टी-२० विश्वकप क्रिकेटमा अमेरिकाले विजयी सुरुवात गरेकाे छ।आइतबार भएको उद्घाटन खेलमा एन्द्रिस गोस र आरोन जोन्सको शतकीय साझेदारीमा अमेरिकाले क्यानडामाथि सहज जित हात पारेको हाे ।
अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा भएको उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाले ७ विकेटको सहज जित हात पारेको हो ।
क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाको जितमा गोस र जोन्सले अर्धशतकीय ईनिङ खेले । जोन्सले ४० बलमा ४ चौका र १० छक्काको सहयोगमा अविजित ९४ रन बनाए । गोसले ४६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । तेस्रो विकेटका लागि जोन्स र गोसले ५८ बलमा १ सय ३१ रनको शतकीय साझेदारी गरे ।कप्तान मोनाकं पटेलले १६ बलमा १६ रन बनाए ।
क्यानडाका लागि डेलिन ह्यालिगंर, कलिम साना र निखिल दत्तले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
क्यानडाका लागि निकोलस किर्टन र नवनित धालीवालले अर्धशतक बनाए । धालीवालले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । किर्टनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । श्रेयश मोभ्भाले १६ बलमा अविजित ३२ तथा ओपनर आरोन जोनसनले १६ बलमा २३ रन बनाए ।
अमेरिकाका लागि अलि खान, कोरि एन्डरसन तथा हरमित सिंहले समान एक एक विकेट लिए ।
जितसँगै समूह ए मा रहेकाे अमेरिका शीर्ष स्थानमा छ ।