काठमाडौं, ६ जेष्ठ : भारतीय कांग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । सिद्धारमैयाले शनिबार कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
साथै कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमारले उपमुख्यमन्त्रीका रूपमा शपथ लिए । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिएका हुन् ।
शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथ उपस्थित थिए ।
त्यस्तै शपथग्रहण कार्यक्रममा राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवार तथा नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्ला , छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, सीपीआईका नेता डी राजा र सीपीएमका नेता सीताराम येचुरी पनि उपस्थित थिए ।
सिद्धारमैया जमिनीस्तरबाट उदाएका नेता हुन् । जनता परिवारबाट राजनीतिक यात्रा सुरु गरेका उनी सन् २००६ मा कांग्रेसमा आबद्ध भएका थिए । उनी एचडी देवेगौडाको जनता दल (सेक्युलर) छाडेर कांग्रेसमा आएका थिए । उनी देवराज उर्सपछि कर्नाटकको मुख्यमन्त्रीमा पूर्ण कार्यकाल रहने दोस्रो व्यक्तिसमेत हुन् । १३ मे, २०१३ देखि १७ मे २०१८ सम्म उनी कर्नाटकको १४औं मुख्यमन्त्रीका रूपमा रहेका थिए ।
मे १० मा भएको चुनावमा भाजपालाई हराउँदै कर्नाटकमाकांग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ । यसअघि सन् २०१८ मा १०४ सिटमा जित हात पारेको भाजपा भने यसपटक ६६ सिटमा खुम्चिएको छ । त्यस्तै कर्नाटकको राजनीतिमा ’किंगमेकर’ का रूपमा रहेको जनता दल सेक्युलरले भने १९ सिटमा जित हात पा¥यो । यसअघि उसले ३७ सिटमा जित हात पारेको थियो ।साभार : कान्तिपुर