
काठमाडौं, ५ जेष्ठ : मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबारबसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो ।बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए ।
बालुवाटारको सहमतिसँगै मधेस प्रदेशमा अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् ।
आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।
‘मधेस प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने र तत्काल यही सरकारमा रहने भन्ने भएको छ । कार्यकालको कति समय भन्नेबारे गठबन्धनले निर्णय गर्छ,’ उनले भने,‘अर्को कार्यकालमा कुन पार्टीको सरकार बन्ने भन्ने पनि भएको छैन । त्यो विषय पछि छलफल हुन्छ ।’जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको उनले बताए ।

