Madhes Khabar
अर्थतन्‍त्र

आर्थिक मन्दीकाे असर: ३५ प्रतिशतभन्दा बढी व्यावसायिक सटर बन्द

काठमाडौं ,१९बैशाख :बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए ।

व्यापार नभए पनि सटरको भाडा मासिक ४० हजार र गोदामको ५ हजार तिर्दै आएको थिएँ । भाडा तिर्न पनि नसकेपछि सामान गोदाममा राखेर सटर खाली गरें,’ रेग्मीले भने, ‘गोदामको जुत्ता अनलाइन अथवा व्यापारीलाई नै बेच्ने योजना छ । अवस्था सुधार भए पुनः व्यापारमै फर्किन्छु ।’ सटर भाडा तिर्नकै लागि थप ऋण लिनुपरेको उनको गुनासो छ । यी सबैको कारक कोभिड, बैंक ब्याजदर र आर्थिक मन्दी रहेको उनले सुनाए । गौशालामै भाडा लिएर बसेका रेग्मी पसल छोडेपछि भक्तपुर पुगेका छन् । करिब एक महिनादेखि उनी गोदामको भाडा तिरेर बसिरहेका छन् ।
‘व्यवसाय सञ्चालनका लागि लिएको बैंकको ८ लाख रुपैयाँ ऋण थियो, व्यापार नभएपछि भाडा तिर्न पनि छुट्टै ऋण लिनुपर्ने अवस्था आयो । त्यही कारण पसल बेच्न खोजें । तर सामानसहित पसल किन्ने कोही भेटिएनन्,’ उनले भने, ‘कोभिडपछि कम भएको व्यापारमा आर्थिक मन्दीले उठीबास लगाएको छ ।’

रेग्मी प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट रिकभर भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन् । जसले गर्दा व्यापार व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको उनीहरू गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् । ‘ग्रिल तथा स्टिलमा स्वरोजगार बढी छन् ।

व्यवसाय चलाउन नसकेर १ सय २२ जनाले अनुभव पत्र लिएर पेसा छाडेका छन् । खर्च, परिवार पाल्न नसकेपछि खाडी मुलुक जान बाध्य छन्, खाडीबाट फर्केर आएपछि यहाँ व्यवसाय गरे । तर, बाध्य भएर फेरि विदेशिएका छन्,’ ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने, ‘कतिपय साथी तरकारी र किराना पसलतिर लागेका छन् । पेसाबाट पलायन भएका छन् ।’

बिना श्रेष्ठले पनि एक महिनाअघि १५ वटासम्म सटर खाली रहेकामा अहिले छाड्ने, आउने क्रम जारी रहेको बताइन् । ‘रञ्जना व्यापार संघमा ४ सय २७ भन्दा बढी व्यवसायी आबद्ध छन् । अलिअलि सटर बन्द हुन थालेका छन्,’ उनले भनिन्, ‘एक महिनाअघि १५ वटासम्म सटर खाली थिए । अहिले छोड्ने, आउने क्रम जारी छ । जहाँ पनि टु–लेट भन्ने बोर्ड देखिरहेका छौं ।’

आर्थिक गतिविधि सुस्त भएकै कारण सबैजसो क्षेत्रमा एउटै समस्या देखिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । सबै क्षेत्रको व्यापार व्यवसायको आकार घटेको र कारोबार घटेकै कारण भाडा तिर्न धौधौ हुने अवस्थामा पुगेको उनले जनाए । ‘तथ्यांक नभए पनि एकाध रूपमा सटर बन्द भएकै छन् ।

अर्थतन्त्र नकारात्मक भएका कारण यस्तो अवस्था आएको हो । भूकम्पबाट तंग्रिएपछि कोभिड सुरु भयो । कोभिडकै कारण अन्तर्राष्ट्रिय बजारमा महँगी बढ्यो,’ अध्यक्ष मल्लले भने, ‘त्यसमाथि बैंकको ब्याजदर महँगो छ, आर्थिक गतिविधि सुस्त हुँदा झन् चैतर्फी समस्या देखियो । कोभिडको असर अहिले बजारमा व्यापार देखिएको छ ।’ साभार:कान्तिपुर

Related posts

विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

MadhesKhabar

करको दायरा घटाउन मेयर सिंहसंग उद्योग वाणिज्य संघको माग

MadhesKhabar

वीरगन्ज र जनकपुरका युवा उद्यमीहरुबिच सम्बन्ध विस्तारका लागि संयुक्त औद्योगिक भ्रमण

MadhesKhabar

Leave a Comment