
मधेसखबर
वीरगन्ज ,३बैशाख : पर्साकाे बहुदरमाई नगरपालिका वडा नंबर २ का वडाध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
चेक बाउन्स गराएकाे कसुरमा वडाध्यक्ष पटेललाई प्रहरीले आइतबार साँझ उनकाे आफनै गाउँबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक माेहनविक्रम केसीकाे नेतृत्वमा खटिएको टाेलीले पटेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
बैंकिङ कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पटेललाई नियन्त्रणमा लिइएको उनले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको गिरिले जानकारी दिए।
वडाध्यक्ष पटेलले काटेकाे १२ लाख रुपैयाको चेक बैंकबाट बाउन्स भएकाे र त्यहि कसुरमा उनलाई अदालतकाे आदेशमा प्रहरीले पक्राउ गरेकाे प्रहरी श्राेतले जनाएको छ।
पटेल, २०७९ बैशाख ३० मा भएको स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट बहुदरमाई नगरपालिकाको वडा नंबर २ काे वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि २०७४ काे निर्वाचनमा भने उनी वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

