
मधेसखबर
वीरगन्ज,२फागुन : मधेस प्रदेशका नवनियुक्त खानेपानी तथा उर्जा विकासमन्त्री सिंहासन साह कलवार यति बेला गृह जिल्ला पर्सामा सम्मान र बधाइ थाप्नमा व्यस्त छन् ।
मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गत शनिबार गृह जिल्ला आइ पुगेका मन्त्री कलवारलाई त्यहि दिन जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले उनलाई घण्टाघरमा स्वागत गर्दै बधाइ दिएका थिए । घण्टाघर चोक छेउमा रहेको मधेसी सहिदहरुको शालीकमा माल्र्यापण गरेपछि आफनो निर्वाचनमा पुगेका मन्त्री कलवारलाई त्यहा पनि विभिन्न गाँउमा उनका समर्थक र कार्यकर्ताले बधाईका साथै सम्मान गरेका थिए ।

गृहजिल्ला आएको दिन शनिबार देखि नै बधाइ र सम्मान थाप्नमा व्यस्त मन्त्री कलवारलाई मंगलबार पनि वीरगन्जका दुइ स्थानमा आयोजित छुट्टा छुट्टै कार्यक्रममा सम्मानित गरिएको छ ।
मंगलबार बिहान जसपा पर्साले कार्यक्रम गरि मन्त्री कलवारलाई बधाइ र सम्मानित गर्यो ।जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री कलवारले मन्त्री बनेकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि पार्टीकै समन्वयमा मन्त्रालयका कामहरु पनि गर्ने र पार्टी संगठन र मन्त्रालयको जिम्मेवारी दुवैलाई समानान्तर ढंगले अघि बढाउने आश्वासन पनि बाँडे ।

उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु फिरोज मन्सुर, सलमा खातुन, रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद ,पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, पर्सा जिल्ला सहइन्चार्ज महाराज यादव लगायको सहभागीता थियो ।
त्यसपछि मंगलबार नै वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा पनि मन्त्री कलवार बधाइ तथा सम्मान थाप्न पुगे ।
क्याम्पसमा जसपा निकट समाजवादी विद्यार्थी युनियनले उक्त कार्यक्रम आयोजना गरेको थियो ।समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, नेता सुरेन्द्र कुर्मी, ठाकुरराम क्याम्पसका प्रमुख प्राध्यापक डा. उमेश चौरसिया, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य निखिल वर्णवाल, जसपाका युवा नेता आमिर आलम, समाजवादी विद्यार्थी युनियनका ठाकुरराम ईकाई कमिटी अध्यक्ष हरेन्द्र यादव , उपाध्यक्ष शशीकान्त सर्राफ लगायतको सहभागिता थियो ।

