
मधेसखबर
वीरगन्ज,२ फागुन : वीरगन्ज महानगरपालिकाले ९ महिना देखि हराएका एक युवकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का ३० वर्षिय इब्राहिम देवानलाई अभिभावकले उपचारका लागि भारत लिएर गएका बेला उनि किछौछा दरगाह सरीफबाट हराएका थिए ।
९ महिना पहिले हराएका देवानलाई , वीरगन्ज महानगरपालिकाले गठन गरेको खोज तलाश समितिले बिहारको समस्तीपुरमा फेला पारेर उद्धार गरि घर फर्काएको हो ।
वीरगन्ज महानगरपालिकाले उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोजतलाश समिति नै गठन गरेको छ । त्यहि समितिको पहलमा देवानलाई उद्धार गरिएको हो । मंगलबार उपमेयर आलमले आफनै कार्यकक्षमा देवानका बुबा शाह महम्मदलाई बोलाएर देवानलाई जिम्मा लगाएर घर पठाएका हुन् ।
केहि दिन पहिले देवान, बिहारको समस्तीपुर जिल्लाको मुमरी धरारी थाना नजिक रुपौलीमा रहेको जानकारी खेजतलाश समितिले पाएको थियो । त्यसपछि समितिका सदस्य र वीरगन्ज महानगरको बालअधिकार समितिकी प्रमुख साबित्री भण्डारी सहितको टोलीले भारतमा गएर देवानलाई उद्धार गरि वीरगन्ज ल्याएर मंगलबार परिवारको जिम्मा लगाएको उपमेयर आलमका प्रेस संयोजक सद्धाब मलिकले जानकारी दिए ।

