
वीरगन्ज,२६ मंसिर : पर्साको ठोरी गाँउपालिका वडा नम्बर –५ सुवर्णपुर स्थित होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती होमस्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो । कोभिड–१९ महामारी पछि विदेशी पर्यटक आउन छोडेका थिए । तर कोरोना महामारी घट्दै गएपछि होमस्टेमा विदेशी पर्यटक समेत आउन थालेको होमस्टेका सञ्चालकहरु बताउँछन् ।
सुनाखरी मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत तेश्राे मुलुकबाट समेत पर्यटक आउन थालेको बताए । उनका अनुसार हरेक महिना कम्तीमा सय देखि १ सय २० जनासम्म स्वदेशी र ३० देखि ३५ जना विदेशी पर्यटक आउने गरेका छन् । सुवर्णपुरमा १५ वटा घरमा होमस्टे सञ्चालनमा छन् । मधेस प्रदेशकै पहिलो होमस्टेमा ६० जनासम्म पाहुनाले बास बस्न सक्छन् ।
सुवर्णपुरमा सञ्चालित होमस्टेमा पाइने स्थानीय खानाको परिकार तथा स्थानीयको राम्रो व्यवहारले आफूलाई आकर्षित गरेको अमेरिकाको क्यालिफोर्निया राज्यकी स्टेफनी थोर्नटन बताइन् । तीन दिनको बसाइ सकेर फर्किने क्रममा थोर्नटनले भनिन्, ‘बसाइ निकै रमाइलो भयो, फेरि साथीहरुसँग घुम्न आउँछु ।’
होमस्टेमा वीरगन्ज, पोखरा, हेटौंडा, काठमाडौं, चितवन क्षेत्रका पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । विदा मनाउन मात्र नभई तामाङ संस्कृति, रहनसहनलाई नजिकबाट बुझ्न, वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान एवं शोधपत्र तयार पार्न पाहुना आउने गरेको होमस्टेका सञ्चालकहरु बताउँछन् ।
गैरसरकारी संस्थामा काम गर्दै आएका दामोदर यादवले होमस्टेमा बसेर कोलाहलमुक्त वातावरणमा रमाउन पाउँदा निकै आनन्द लागेको बताए । ‘घरमा जस्तै आफैंले खाना पकाइयो, खाइयो । रमाइलो गरियो’ उनले भने ।
होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटक आउने हुँदा समुदायको विकासमा समेत यसले योगदान पुग्ने उनको बुझाइ छ । ‘ ग्रामिण क्षेत्रका यस्ता होमस्टेको संरक्षण तथा प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो । स्थानीयको जीवन स्तर उकास्ने यस्ता काममा स्थानीय सरकारले बढी सहयोग गर्नुपर्छ’ दामोदरले भने ।
होमस्टे व्यवस्थापन समितिका सचिव बलराम कोर्मोचाले होमस्टेमा पाहुनाका लागि तयार गरिने खाना नास्ताको गुणस्तरसँगै सरसफाइमा विशेष ध्यान दिने गरेको बताए । होमस्टेमा एक रात बास बस्दा पाँच सय रुपैयाँ लिने गरिएको छ भने खाना र नास्ता पनि सस्तो छ । ठोरीकै तीन घरेमा पनि तीन घरे मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा छ । त्यहाँ १० वटा घरमा होमस्टे सञ्चालनमा छ ।
निकुञ्ज अन्तर्गतको मध्यवर्ती सामुदायिक वनको सहयोगमा होमस्टेहरु स्थापना भएका हुन् ।साभार: अनलाइनखबर

