Madhes Khabar
राजनीति हेडलाइन

काँग्रेसका ३२ समानुपातिक सांसदमा रुंगटा र मन्सुर परेनन्

मधेसखबर
वीरगन्ज,२४ मंसिर : पर्साका नेता अनिल रुंगटा र बाराका नेता फरमुल्लाह मन्सुर समानुपातिकबाट सांसद बन्न बन्चित भएका छन् । शनिबार नेपाली काँग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएकोमा त्यसभित्र मन्सुर र रुंगटाको नाम समावेश नै छैन ।

पर्सा १ बाट पूर्व सांसद अनिल रुंगटा र बारा ३ बाट पूर्व सांसद फरमुल्लाह मन्सुर यो पटक प्रत्यक्षमा चुनाव नलडि मधेसी र मुस्लिम कोटा तर्फ बन्दसूचीमा परेका थिए । मन्सुरको नाम मुस्लिम कोटाको पहिलो नम्बरमा थियो भने रुंगटाको नाम मधेसी कोटामा दोश्रो नम्बरमा थियो । तर पुरुष तर्फ जम्मा तीन जनाको मात्र नाम छनौट गर्नु पर्ने भएका कारण मन्सुर र रुंगटा दुवै सांसद बन्नबाट बन्चित हुन पुगेका हुन् ।

३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण काँग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका हुन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् ।

समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत रहेकी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँण पनि परेका छन् ।

काँग्रेसले मधेसी कोटाबाट विमलेन्द्र निधी , नगिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगीता मण्डललाइ सांसदमा चयन गरेको छ । त्यस्तै मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चुनिएका छन्।

काँग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई चयन गरेको छ ।

आदिवासी जनजाति तर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बु), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लगाएको छ। दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।

Related posts

मधेसका कांग्रेसी कार्यकर्ता सामु सभापति देउवाको प्रतिबद्धता : ८४ को निर्वाचनमा गठबन्धन हुँदैन

MadhesKhabar

बारामा यस बर्ष करिब ११ अर्बको धान उत्पादन

MadhesKhabar

पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकहरुलाई गरियाे स्वागत

MadhesKhabar

Leave a Comment