Madhes Khabar
स्थानिय

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते

वीरगन्ज, २० मंसिर :बाराको सिम्रौनगढ नगरपालिका–४ काे वडा कार्यालयमा मंगलबार भएको झडपमा १२ जना घाइते भएका छन् । रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा दुई पक्षबीच भएको झडपमा १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ । प्रहरीले भने घटनामा परी ४ जना मात्रै घाइते भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले झडपमा स्थानीय दिपेन्द्र सहनी, सराजुल अन्सारी, अजय यादव र अरुणकुमार पण्डित सामान्य घाइते भएको जानकारी दिए ।

एउटा पक्षले वडा कार्यालयमा लगाएको ताल्चा अर्को पक्षले खोल्न खोज्दा झडप भएको थियो । वडा कार्यालयमा तालाबन्दी गरेका कारण समस्यामा परेका सेवाग्राहीले ताल्चा खोलेको एउटा पक्षको दावी छ भने अर्को पक्षले तालाबन्दी गर्ने पक्षसँग समन्वय नगरी जबर्जस्ती ताल्चा खोल्न खोजेपछि स्थिति विग्रिएको बताएको छ ।

सरकारले अनुदानमा दिँदै आएको रासायनिक मल सिम्रौनगढ ४ मा वडा कार्यालयले नै दामासाहीले वितरण गर्दै आएको छ । वडा कार्यालयले मंसिर १५ गते सूचना निकालेर रासायनिक मलका लागि नागरिकताको प्रतिलिपीसहित निवेदन दिन वडाका किसानसँग आग्रह गरेको थियो । सूचनामा यसरी निवेदन दिने अन्तिम मिति मंसिर १८ आइतबारसम्म भनिएको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्ने कार्यालय त्यसअघि नै बन्द गरेका कारण मलका लागि निवेदन दिनबाट आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

मंगलबार सोही तालाबन्दी खोल्न खोज्दा विवाद उत्कर्षमा पुगेर झडपमा परिणत भएको थियो । वडा प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।

वडा अध्यक्ष र पूर्व अध्यक्षबीच आरोप प्रत्यारोप

पूर्व वडा अध्यक्ष एवं लोसपाका नेता राजेश यादवले मंसिर १८ गते वडा कार्यालय अपरान्ह ४ बजेअघि नै बन्द गरिएकोले गर्दा समस्या उत्पन्न भएको बताएका छन्
वडा अध्यक्ष अवधेश सहनीले वडा सदस्यहरुलाई वाईपास गरेर मनोमानी ढंगले वडा कार्यालय सञ्चालन गरिरहेको समेत उनले आरोप लगाए ।

पूर्व वडा अध्यक्ष यादव लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध छन् । वडा नं ४ मा वडा अध्यक्ष सहनी काँग्रेसबाट निर्वाचित भएका हुन् भने ४ जना वडा सदस्यहरु लोसपाबाट छन् ।

वडा अध्यक्ष सहनीले भने जनतालाई आवश्यक सेवा प्रवाह गर्ने वडा कार्यालयमा तालाबन्दी गर्नु गलत भएको बताए । उनले राजनीतिक रिसईबी साँध्नका लागि किसानको नाममा विपक्षीहरुले स्थिति तनावपूर्ण बनाएको आरोप लगाए ।साभार: अनलाइनखबर

Related posts

वीरगन्जमा इन्टरनेट,केबल लगायतका अव्यवस्थित तार व्यवस्थापन गर्न १५ दिने अल्टिमेटम

MadhesKhabar

बिट्टु वाटरका सञ्चालक गुप्ता वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्साकाे चमरी पुलबाट ६४ पाेका चरेससहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment