Madhes Khabar
मधेस प्रदेश हेडलाइन

निर्णयको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय स्थापना

मधेसखबर
वीरगन्ज, १५ भदौं : बाराको सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ मुख्य बजारमा मालपोत कार्यालय स्थापना भएको छ । गत शुक्रबार राति सुरक्षा घेराबीच सिम्रौनगढ नगरपालिकाको गाडीमा कलैया मालपोत कार्यालयबाट फर्निचर, दराज, कम्प्युटर, स्रेस्तासहितका कागजातहरू ल्याइएको थियो ।

बुधबारदेखि सेवा सुरु हुनेछ । सरकारले निर्णय गरेको ७ वर्षपछि यहाँ बल्ल मालपोत कार्यालय स्थापना भएको हो ।

२०७२ सालमा सरकारले सिमरा र सिम्रौनगढमा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेकै वर्षदेखि सिमरामा मालपोत कार्यालय सञ्चालनमा छ । सिम्रौनगढमा भने निर्णय कार्यान्वयन हुन सकेन । यद्यपि, सिम्रौनगढमा २०७३ सालमा मालपोत कार्यालय स्थापना गर्न घर भाडा लिएर २ वर्षसम्म कार्यालय सञ्चालन नहुँदै सरकारले प्रतिमहिनाको ३० हजार रुपैयाँ भाडा तिरेको थियो ।

अहिले मालपोत कार्यालय स्थापनाले यस क्षेत्रका व्यापारी, सेवाग्रही, किसानसँगै सर्वसाधारण हौसिएका छन् । ‘लामो प्रयास र चौतर्फी दबाबले मालपोत कार्यालय स्थापना भएको हो,’ मालपोत अधिकृत तोकिएका कौशलकिशोर झाले भने, ‘बुधबारदेखि औपचारिक रूपमा कार्यालय उद्घाटन भई सेवा प्रवाह गरिनेछ ।’ कार्यालय स्थापनाले सिम्रौनगढवासीसहित १९ गाउँका सेवाग्राहीले सेवा पाउने उनले बताए ।

‘सात वर्षदेखिको निराशा थियो, अहिले भने आशा पलाएको छ,’ सिम्रौनगढ–८, कचोर्वाका भैरवलाल साह कलवारले भने । कार्यालय स्थापनाले मालपोतको कामका लागि २२ किमी टाढा कलैया जानुपर्ने बाध्यता टरेको छ । सिम्रौनगढका नगरप्रमुख किशोरी साह कलवारले कार्यालय स्थापना हुन नदिन धेरै चलखेल भएको बताए । ‘कहिले कर्मचारी अभाव त कहिले प्रशासनिक असहयोगले स्थापना हुन सकेको थिएन, बल्ल प्रयास सफल भएको छ,’ उनले भने । साभार : कान्तिपुर

Related posts

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

MadhesKhabar

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

MadhesKhabar

वीरगन्जमा नेपाल भारत व्यापार साझेदार सम्मेलन : नेपालमा भारतीय लगानी घट्यो

MadhesKhabar

Leave a Comment