
मधेसखबर
वीरगन्ज, ११ भदौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंको खुल्लामन्चमा आयोजित सभालाइ सम्बोधन गर्दै उनले पछाडि ‘बा’ भएका तीन जना नेतालाई ससम्मान विदा गर्नुपर्ने बताएका हुन् ।उनले भने ,‘ पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।
उनले आफुलाइ मिडियाले पनि अपेक्षा गरे अनुरुपको सहयोग नगरेको गुनासो गर्दै अब आफनो भरोसा जनता माथि मात्र भएको बताए । लामिछानेले आउने मंसिर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मत दिएर पुराना दल र नेताहरुलाइ विस्थापित गर्न आह्वान गरे ।

