Madhes Khabar
हेडलाइन

सिम्रौनगढ नगरपालिकामा कर्मचारी हेरफेरको विवादमा झडप , ९ जना घाइते

फाइल तस्वीर

मधेसखबर

वीरगन्ज,१३साउन: बाराको  सिम्रौनगढ नगरपालिकामा कर्मचारीको जिम्मेवारी हेरफेरको विषय लिएर भएको विवाद झडपमा परिणत हुँदा ९ जना घाइते भएका छन् ।

बिहीबार बेलुका भएको झडपमा ४ जना स्थानीय र ५ जना प्रहरी गरी ९ जना घाइते भएका हुन् ।

घाइतेमध्ये एक जनाको वीरगन्जको अस्पतालमा तथा   अरु आठ जनाको सिम्रौनगढ नगर अस्पताल र कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको टाउको, कोखा, चिउडो, तिघ्रा, हातखुट्टामा चोट लागेको छ ।सबैको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

सिम्रौनगढ  नगरपालिका  कार्यालय अन्तर्गत शिक्षा शाखाको प्रमुखमा नुराजन अन्सारीको कार्य सन्तोषजनक नभएको भन्दै जिम्मेवारीबाट हटाएर नगरपालिकाले अजानी माविका शिक्षक कमलेश अग्रहरीलाई जिम्मेवारी दिएको विषयमा उपमेयर नजमु शेहरका पति शेख मोतिम र वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनी बीच भनाभन हुँदा विवादले उग्ररुप लिएको थियो ।

त्यसपछि सहनीका पक्षधरले नगरपालिकामा ढुंगामुढा र तोडफोड गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । सोही क्रममा प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसहित बल प्रयोग गर्न खोज्दा झडप भएको थियो । भीड तितरबितर गर्न प्रहरीले १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

झडपमा  सिम्रौनगढ ४ का रविकुमार सहनी, रामनिवास राम, वडा ९ का उमेश यादव, गौरीशंकर यादव घाइते भएका हुन् । यसैगरी प्रहरीतर्फ प्रहरी सहाय निरीक्षक भवमोचन झा, हवल्दार मदन साह तेली, रमेश राय यादव, उमेश यादव र सशस्त्र प्रहरी हवल्दार प्रमोद साह घाइते भएका हुन् ।

Related posts

वीरगन्ज : ५ सय ७३ पुराना टायरमा भेटियाे डेंगी फैलाउने लामखुट्टे

MadhesKhabar

परवानीपुर गाँउपालिकाले जाजरकोटका भूकम्प पिडितहरुलाई दियो एक लाख रुपैयाँ

MadhesKhabar

काेराेना समयमा वीरगन्जमा कराेडाैंकाे लागतमा बनाइएको हाेल्डिङ सेन्टर प्रयाेगविहिन

MadhesKhabar

Leave a Comment