
वीरगन्ज,८भदौं : संघ सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो दल जनता समाजवादी पार्टी (जसपा) ले आँफुसहितका दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर अरुलाई पठाउन लागेको बारेमा आँफुलाई कुनै जानकारी नभएको बताएका छन् ।जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले त्यसबारेमा पार्टीले आँफुलाई अहिलेसम्म आधिकारीक जानकारी नगराकोपनि बताएका छन् ।
आइतबार केहि सञ्चारमाध्यममा जसपाबाट सरकारमा रहेका खानेपानीमन्त्री यादव र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह दुवैलाई फिर्ता बोलाएर डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय गरेको समाचार प्रकाशन भएको थियो ।
त्यसबारे प्रतिक्रिया लिन मन्त्री यादवलाई गरिएको प्रश्नमा उनले भने,‘ पार्टीको बैठकले के निर्णय गर्यो ? त्यसबारेमा मलाई आधिकारीक रुपमा जानकारी गराइएको छैन । मैलेपनि आज समाचारमै पढे ,११ गते राजिनामा दिने दिन नै तोकेर लेखिएको रहेछ । तर मलाई अहिलेसम्म त्यसबारे दल वा कुनै नेताले केहिपनि भनेका छैनन् ।त्यसका कारण मिडिया वा सोसल मिडियामा आएका हल्लाका पछाडि म लागेको छैन।’
मन्त्री पदको जिम्मेवारी सम्हालेदेखि आँफु प्रधानमन्त्री केपी ओलीको निर्देशनामा जनताको सेवामा निरन्तरत लागिरहेको उनले बताए । राजनीति कुनै व्यपार नभएको भन्दै उनले भने,‘ मैले राजनीतिलाई सेवा ठानेर जनताको पक्षमा काम गर्दै आइरहेको छु ।’
आँफुले गरिरहेको कामको मुल्यांकन प्रधानमन्त्री ओलीले गरिरहेको भन्दै उनले भने,‘ अहिलेको प्राथमिकता भनेको यो सरकारलाई कसरी हुन्छ अझ मबजुत बनाउने हो । जनताको समस्यालाई सम्बोधन गर्ने गरी तिब्र गतिमा काम गर्ने हो । प्रधानमन्त्री ओलीको हात कसरी हुन्छ अझ मजबुत बनाउने हो । सारा ध्यान यसमै केन्द्रित गरेका छौं ।’

