Madhes Khabar
स्वास्थ्य

मोरङ कारागारका कैदीबन्दीहरुमा कोरोना संक्रमण फैलिएको पुष्टि

मधेसखबर
वीरगन्ज,३१असार : मोरङको कारागारमा रहेका कैदीबन्दीहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो । कोसी अस्पतालमा उपचाररत रहेकाहरुको शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अत्यधिक ज्वरो आएर उपचाररत रहेका कैदी बन्दीको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

एन्टिजेन रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पीसीआर परीक्षणको तयारी भइरहेको उनले बताए। डा. खरेलका अनुसार अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

’१८ जनामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ आएको हो। २ जनाको नेगेटिभ आयो,’ डाक्टर खरेलले भने, ’सबै बिरामीलाई थप उपचारका लागि तत्काल कोसी कोभिड अस्पताल रेफर गरिने छ। थप पुष्टिका लागि सबैको पीसीआर परीक्षणको तयारी भइरहेको छ।’

संक्रमितको उपचारमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गरिने उनले बताए। डा. खरेलका अनुसार प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाइने छ।

उनका अनुसार एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुमा १०२ डिग्रीभन्दा धेरै ज्वरो छ। स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको उनले बताए।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि भर्ना गरिएका कैदीमध्ये एक जनाको मृत्यु भइसकेको छ। कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार बिरामी परेपछि उपचारका लागि भर्ना गरिएका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो।

१०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेकोमा दिउँसो १ः३० बजेतिर मृत्यु भएको हो। शव परिवारका सदस्यले बुझेर लगिसकेका छन्।

तर मृतकको भने कोरोना परीक्षण भएन। सामान्य ज्वरो आएका कारण गत असार २५ गते पनि अस्पताल पुर्याइएका नेपाललाई त्यतिबेला उपचारपछि फर्काएर कारागार नै लगिएको थियो।

१०० डिग्रीभन्दा बढी ज्वरो आएका १८ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा अहिले १ हजार ८७ जना कैदी बन्दी राख्नु परिरहेको छ।

बस्ने ठाउँको अभाव र कारागारभित्र कोरोना फैलिएको पुष्टि भएपछि बिरामीको व्यवस्थापनमा समस्या थपिएको निमित्त जेलर भगतले बताए। सामान्य ज्वरो आउनेको संख्या धेरै रहेको उनको भनाइ छ।

अत्यधिक गर्मीसँगै कारागारभित्रको बसाई असहज भइरहेका बेला कैदी बन्दीमा कोरोना पुष्टि भएको हो। ठूलो संख्यामा कैदी बन्दी रहेको कारागारभित्र कोरोना फैलिएको डा. खरेलले बताए।
साभार : अन्नपूर्णपोष्ट

Related posts

पोखरिया अस्पतालमा छैठौं दिनपनि धर्ना जारी

MadhesKhabar

खुल्ला ठाँउमा खानेकुराको बिक्रीमा रोक्न लगाउन वीरगन्ज महानगरलाई सरोकारवालाहरुको सुझाव

MadhesKhabar

वीरगन्जको बसपार्कमा ९० जना चालक र सहचालकको आँखा परीक्षण

MadhesKhabar

Leave a Comment