
मधेसखबर
वीरगन्ज,३० असार : नेपाली सेनाले मधेस काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति नगरी बजेट विनियोजन गरी गरेर २९ अर्ब ७ करोड ६२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले ५९औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ आयोजनाको निर्माण कार्य सुरु गर्नु पूर्व आर्थिक कार्यविधि नियमावली, २०६४ विपरीत यसरी खर्च भएको उल्लेख छ ।
नेपाली सेनाका जनशक्ति प्रयोग गरी तथा निर्माण व्यवसायीसँग खरिद सम्झौता गरी सडक निर्माणमा . ११ अर्ब ५८ करोड ७ लाख तथा नेपाली सेनाका जनशक्ति प्रयोग गरी सडक निर्माण गर्न हेभी उपकरण खरिदमा ८८ करोड ५५ लाख ४४ हजार रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।
नेपाल सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार निर्माण हुने सडकको लम्बाइ ७६.२ किलोमिटरबाट ७२.५ किलोमिटर कायम भएको छ । कुल लम्बाइ ७२.५ किलोमिटरमध्ये ६.४१५ किलोमिटरको ३ सुरुङ तथा १०.५७६ किलोमिटर लम्बाइका ८७ पुल निर्माण हुने भई ५५.५० किलोमिटर मात्र सडक निर्माण गर्नुपर्ने अवस्था छ । डीपीआरपछि केही स्थानको रेखांकन समेत परिवर्तन भएको छ ।
‘यसबाट विस्तृत आयोजना प्रतिवेदन स्वीकृत हुनुभन्दा अघि भएका खर्च एवं निर्माण भएका संरचना नयाँ परियोजना प्रतिवेदनअनुसार निर्माण हुने संरचनाभित्र समावेश भई उपयोग हुने नहुने सम्बन्धमा आयोजनाले विश्लेषण गरेको पाइएन ।’

