Madhes Khabar
धर्म/संस्कृति

तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

मधेसखबर

वीरगन्ज,२६ असार:प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आइतबाे देखि सुरु भएको छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आजका दिन मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।

आजका दिन देखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।

Related posts

जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

MadhesKhabar

आज विश्वकर्मा पूजा : भगवान विश्वकर्माको पूजा आराधना गरि धुमधामकासाथ मनाईंदै

MadhesKhabar

वीरगन्जका धार्मिक सम्पदा संरक्षणका लागि समिति गठन, सबै धार्मिक स्थलहरु अनिवार्य सूचिकृत हुनुपर्ने

MadhesKhabar

Leave a Comment