Madhes Khabar
कृषि

पर्सामा ड्याङ बनाएर खेती गर्दा उत्पादनमा वृद्धि

मधेसखबर
वीरगन्ज,२५असार : पर्सामा स्थायी ड्याङ बनाएर गरिएको धान, गहुँ र मुग खेतीबाट उत्पादन वृद्धि भएको पाइएको छ ।

वीरगन्ज स्थित कृषि औजार अनुसन्धान केन्द्रको परिसरमा बेड प्लान्टर मेसिनबाट यी बालीको खेती गर्दा उत्पादन वृद्धि भएको पाइएको हो ।

केन्द्रका प्रमुख इन्जिनियर सचिनकुमार मिश्रका अनुसार केन्द्र परिसरमा २ दशकयता जारी यो विधिको परीक्षणका क्रममा प्राप्त हालसम्मको नतिजाले औसतमा १२–३६ प्रतिशतसम्म बढी उत्पादन भएको छ । धानबाली प्रतिहेक्टर ४ हजार ५ सय ९६ किलो, गहुँ बाली प्रतिहेक्टर ४ हजार ५ सय ४८ किलो र मुंग बाली प्रतिहेक्टर ५ सय १२ किलो उत्पादन भएको छ ।

 

यो विधिअनुसार खेती गर्दा बिनाखनजोत उपयुक्त चिस्यान भएको बाझो खेत (ड्याङ) मा धान, गहुँ, मुंगको बीउ र दानेदार मल एकैसाथ छरिन्छ । ‘यो विधिले गर्दा माटोको क्षारीयपनमा कमी आउने र माटोको गुण संरक्षणमा राम्रो भएको देखिन्छ,’ उनले भने, ‘३०–४० प्रतिशत सिँचाइ गर्ने पानीको बचत तथा श्रममा २०–३० प्रतिशतसम्म बचत हुन्छ ।’ ड्याङमा छापो हाली धान, गहुँ, मुंगको खेती गर्दा परम्परागत तरिकाभन्दा तुलनात्मक रूपमा बढी उत्पादन हुनुका साथै बीउमा १५–२० प्रतिशतसम्म बचत भएको उनले बताए ।

 

ड्याङ बनाउन ट्याक्टरबाट चलाइने ‘बेड फरमर’ मेसिन प्रयोग गरिन्छ । करिब १ लाख ५० हजार रुपैयाँ लागत पर्ने यो मेसिन भारतमा उत्पादन हुने भएकाले सहजै खरिद गर्न सकिन्छ । मेसिनले बीउलाई चाहेको दूरी र गहिराइमा खसाल्ने सुविधा हुनुका साथै आफूले चाहेको उचाइको ड्याङ बनाउन पनि सकिन्छ । ‘सिफारिस गरिएको बीउ र मलको मात्रा तोके बमोजिम खसाल्न सकिन्छ,’ उनले भने, ‘यो मेसिनको प्रयोग गर्दा बीउलाई भौतिक रूपमा क्षति नहुने हुँदा किसान लाभान्वित हुन्छन् ।’

 

मेसिनको कार्यक्षमता प्रतिघन्टा ०.२७ हेक्टर रहेकाले तराई क्षेत्रका ठूला किसानलाई मुख्यतः धान, गहुँ, मुंगको खेती गर्न यो विधि उपयुक्त रहेको उनले सुझाए । ‘दक्षिण एसियामा धान, गहुँ र मुंग बाली प्रणालीका लागि ड्याङ विधि एउटा नयाँ खोज हो,’ उनले भने, ‘यो विधिबाट खेती गर्दा परम्परागत खेतीको तुलनामा पानी र नाइट्रोजनको उपयोग क्षमता वृद्धि भई उत्पादनमा वृद्धि हुन जान्छ । ज्यामी, जग्गा तयारी, मलखाद र बीउमा हुने खर्च पनि बचत हुन जान्छ ।’

केन्द्र परिसरमा अहिले पनि उक्त विधिको परीक्षण जारी छ । ‘जोताई नगरी ड्याङ लगाएर लामो समय निरन्तर बाली लगाउँदा कति उत्पादन हुन्छ भन्ने हामी अनुसन्धान गरिरहेका छौं, हालसम्म उत्पादन बढेको छ,’ उनले भने, ‘एउटा निश्चित समयपछि उत्पादन स्थिर वा घट्न पनि सक्छ । त्यसपछि हामी उत्पादन बन्द गरेर यसको अन्तिम नतिजा निकालेर किसालाई खेतीका लागि सिफारिस गर्नेछौं ।’ ड्याङ बनाउने मेसिनको लागत पनि धेरै नभएकाले किसान एक्लैले वा सामूहिक रूपमा वा स्थानीय तहले खरिद गरी किसानलाई खेती गर्न प्रोत्साहन गर्न सक्ने उनको सुझाव छ । यो खबर कान्तिपुरमा पत्रकार शंकर आचार्यले लेखेका छन् ।

Related posts

पर्सामा ६ ट्रक मल किसानले कब्जा गरे

MadhesKhabar

लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजारभन्दा बढी पशुहरु मरे

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment