वीरगन्ज,१५चैतः वीरगन्ज महानगरपालिकाले ग्रामीण भेगका वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साका ३४ जना महिलाहरुलाई बेमौसमी तरकारी सम्बन्धि तालिम दिइएको हो ।
वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादवको पहलामा महानगरपालिकाको कृषि तथा पशुपंक्षी विकास शाखाले बिहीबार आयोजना गरेको तालिमममा करेला, रामतोरीया , लौका , घिरौंला लगायतका बेमौसमी तरकारी खेती गर्ने तरिकाका बारेमा तालिम दिइएको ओम प्रकाश रामले जानकारी दिए ।
तालिममा सहभागी महिलाहरुलाई महानगरको कृषि शाखाकी रोशनी यादव र कृषि विज्ञ कैलाश भुडँेरले तालिम दिएका थिए । साथै तालिममा सहभागी महिलाहरुलाई तरकारीको बीउ वितरणपनि गरिएको थियो ।
वडामा रहेका खासगरी विपन्न समुदायका महिलाहरुलाई खेती किसानी मार्फत नै आय आर्जन गरेर आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको वडाध्यक्ष यादवले बताए ।
वडाध्यक्ष यादवकै अध्यक्षतामा भएको तालिममा महानगरको कृषि शाखाका एलिना वाग्लले, दलित महिला वडा सदस्य धना देवी , सयदा खातुन लगायतकोपनि उपस्थिती रहेको थियो ।

