
मधेसखबर
वीरगन्ज,१७ असार : सरकारले वीरगन्ज चिनी कारखाना सहित तीन ठूला रुग्ण उद्योग आगामी आर्थिक वर्ष देखि सन्चालन गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री जर्नादन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु सहितका सरकारी अधिकारी सम्मिलित मंगलबारको बैठकले यस्तो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बजेट घोषणा अनुसार रुग्ण भएर करिब २० वर्ष पहिले सरकारले नै बन्द गरेका वीरगन्ज चिनी कारखाना , वीरगन्जकै कृषि औजार कारखाना र हेटौंडा कपडा उद्योग , उपयुक्त मोडलमा सरकार र निजी क्षेत्रले वा अन्य कुनै विकल्पमा चलाउने निर्णय भएको उद्योग मन्त्रालयकाा सचिव अर्जुन पोख्रेलले जानकारी दिए ।
अर्थमन्त्री शर्मा, उद्योगमन्त्री बडु, योजना आयोगका उपाध्यक्ष र दुवै मन्त्रालयका सचिव सम्मिलित बैठकले यी तीन उद्योगहरु सञ्चालन गर्ने र त्यसका लागि अर्थ, उद्योग र कृषि मन्त्रालयले एक आपसमा समन्वय गर्ने निर्णय भएको पोख्रेलले बताए ।
पोखरेलले भने ,‘ ‘जतिसक्दो छोटो प्रक्रिया र विधिबाट उद्योग सन्चालन गर्नेबारे निर्णय भएको छ , ती उद्योगहरु सञ्चालनका लागि अर्थ, कृषि र उद्योग मन्त्रालय बीचको त्रिपक्षीय संयन्त्र बनाएर आपसी समन्वयमा मोडालिटी तयार गरिने गरी सहमति भएको छ ।
छोटो प्रक्रियाबाट सन्चालन मोडालिटी बनाउन विभागीय जिम्मेवारी तोक्ने तयारी पनि भइरहेको उननले बताए ।
यी तीन ठूला उद्योग सन्चालनका लागि आवश्यक लगानी र व्यवस्थापन मोडालिटी बारे फाष्ट ट्र्याकमा प्रतिवेदन बनाइने पनि उनको भनाइ छ । उद्योग सन्चालनका विभिन्न मोडलहरु मध्ये सरकार आफैंले चलाउने, निजी क्षेत्रलाई दिने वा सरकार र निजी क्षेत्र मिलेर चलाउने, व्यवस्थापन मात्रै हायर गर्ने लगायतका विभिन्न मोडालिटी बारे अध्ययन भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।
मोडालिटी तयारीमा कुन उद्योग सन्चालनमा कुन मन्त्रालयले कसरी काम गर्ने भन्ने पनि तय हुनेछ । वीरगन्ज चिनी कारखाना र कृषी औजार कारखाना सन्चालनको दायित्व कृषि र उद्योग वाणिज्य दुवै मन्त्रालयको हुने र त्यसका लागि रुग्ण उद्योग ब्युँताउने अर्थ मन्त्रालयको इकाइले पनि थप समन्वयन गर्ने सचिव पोख्रेलले जानकारी दिए ।
वीरगन्ज चिनी कारखाना १६ माघ २०५९ र कृषि औजार कारखाना ४ चैत २०५९ मा निजीकरण गरिएको थियो । बन्द अवस्थामा रहेका सबै उद्योगहरु अहिले कम्पनी खारेजीको प्रक्रियामा छन् ।

