
मधेशखबर सवांददाता
असाढ ७ ,२०७९ , वीरगंज
पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर ४ मा अबैध रुपमा काटिएका गोलिया काठ र साईकल बरामद गरीएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वमा खटिएको प्रहरी टोलीले सखुवा प्रसौनी गाउँ पालिका वडा नं.४ करबोला चौकबाट उतm काठ र साईकल बरामद गरेको हो । राष्ट्रिय वन जंगलबाट अबैधरुपमा सालको गोलिया काठ तिन थान र तिन थान साईकल सहित एक जना काठ तस्कर पक्राउ परेको जनाईएको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ देउरबना घर भएका नुर होदा अन्सारी रहेका छन् । दुई जना तस्कर भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद काठ ,साईकल सहित पक्राउ परेका अंसारीलाई डिभिजन वन कार्यालय पर्सा बुझाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्साको भतौडा सब डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुन्ज चर्भैया पोष्ट नजिकैको जंगलबाट दैनिक जसो सालको गोलिया काठ कटान गरि तस्करी हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त स्थानबाट अबैध रुपमा काटिएका काठ देवरिया ,निचुटाचिरान लगायत फर्निचर पसलमा लैजाने गरीएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
यसैगरी राष्ट्रिय वन जंगलबाट स्थानीय सरोकारवालाहरुको मिलोमतोमा सालको काँचो काठ कटान गरि चिरपट दाउरा बनाएर पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं.१ बैरिया र सोनवर्षामा घरको अगाडी बाटो भण्डारण गरि विक्री गर्ने गरीएको स्थानीयले जनाएका छन् । सरोकारवाला ब्यक्ती समेतको मिलोमतोमा तस्करी हुँदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयले गुनासो गरेका छन् ।

