Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

जीबी राईकाे सानो पाइला सहकारीले १ अर्ब बढी रकम फिर्ता नगरेपछि ८ सय बचतकर्ताको बिचल्ली

वीरगन्ज,२माघ:वीरगन्ज–१०आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु बचतकर्ताले जम्मा गरेको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार भएपछि आठ सय भन्दा बढी बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

काठमाडौंको कालीमाटीस्थित केन्द्रिय कार्यालय रहेको सानोपाइला सहकारीका मुख्य व्यवस्थापक तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राइ हुन् । गत जेष्ठदेखि नै सहकारीका सञ्चालक र कर्मचारीहरु कार्यालय नै बन्द गरी सम्पर्कविहिन छन्। आँफुहरुले बचत गरेको रकम फिर्ता र सञ्चालकलाई कारबाहीको माग गर्दै पिडित बचतकर्ताहरुले वीरगन्जमा पटक पटक सडक प्रदर्शन गर्दै आएका छन् । उनिहरुले वीरगन्ज महानगर र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीपनि दिएका छन् । तर अहिलेसम्म उनिहरुले सहकारीमा बचत गरेको रकम फिर्ता भने पाउन सकेका छैनन् ।

एक वर्षदेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता नदिएपछि पिडित बचतकर्ताहरुले गत जेठ ३२ गते आदर्शनगरस्थित सहकारीको कार्यालयमै धर्नादिदै प्रदर्शन गरे । त्यसपछिपनि कुनै सुनुवाइ नभएपछि गत पुष २७ गतेपनि उनिहरुले वीरगज्जमा विरोध जुलुश निकालेर प्रदर्शन गरे ।

स्वास्थ्य उपचारको लागि थोरैथोरै गरेर जम्मा गरेको रकम आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू विचल्लीमा बचतकर्ता अंकति अग्रवाल बताउँछन् । उनी भन्छन् ‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०÷२५ हजार जम्मा गर्दै आएको थिए । १० लाख जती एफडी पनि गरेको थिए,अहिले उपचार गराउने समय आउँदा सहकारीको अफिस नै बन्द छ । अब मैले आफ्नो उपचार कसरी गराउने ?’

अर्का पिडित बचतकर्ता विक्रम सर्राफको दुखेसोपनि उस्तै छ । उनि भन्छन्,‘ एक वर्षपहिले हामीहरु पैसा माग्न पुगेपछि पाँच÷पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुखले भनेका थिए । तर एकसुकोपनि फिर्ता पाइएन । खुनपसिना चुहाएर कमाएको पैसा डुब्यो ।’

पिडित बचतकर्ता मध्येका अर्का रामबाबु कलवारको पीडा त अझ दुखदायी छ ।छोरीको विहेको लागि भने जम्मा गरेको पैसा पनि सहकारीबाट फिर्ता नपाएको उनि बताउँछन् । उनिी भन्छन्,‘ जग्गा बेचेर श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको थिए । त्यसको अलावा दैनिक ५००÷१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिए। छोरीको विहे बेला पैसा झिक्न जाँदा सहकारीमा ताला लागेको देखेर आँफै पो जिल्ल परियो । सहकारीका साहुहरुको अत्तोपत्तो छैन,कर्मचारीपनि सम्पर्कविहिन छन् ।’

पिडित बचतकर्ताहरुले सानोपाइला सहकारी पिडित संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलनमा छन् । संघर्ष समितिका संयोजक सुशील अग्रवालका अनुसार, सानो पाइला सहकारीमा वीरगन्जका साना तथा ठूला व्यापारी,मजदुर , सर्वसाधरण गरि आठ सय भन्दा बढी व्याक्तिको करिब १ अर्ब ३५ करोड रुपैयाँ बचत रहेको थियो ।

अग्रवाल भन्छन,‘ पुष २७ मा जुलुश निकालेर प्रदर्शन गर्यौ । अब फरार सहकारीका मुख्य सञ्चालक जीबी राईसहितकालाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामापनि ज्ञापनपत्र बुझाउँछौ ।त्यसपछि जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई पिडितहरुले सामुहिक रुपमा भेटेर दबाब दिने उनको भनाई छ ।

महानगरको सहकारी, रोजगार तथा उद्यम प्रबद्र्धन शाखाका प्रमुख सुनिल कर्णका अनुसार, सानोपाइला सहकारी विरुद्ध महानगरको शाखामात्रै ११५ भन्दा बढी बचतकर्ताको लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा बताउछन् । बचतकर्ताहरुले महानगरमा मात्रै दिएको उजुरीका आधारमा सानो पाइला सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको देखिएको कर्ण बताउँछन् ।

पक्राउ पूर्जी जारी भएप्छि जीबी राईसहितका सञ्चालकहरु फरार

सहकारीले एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता दिन आनकानी गरेको भन्दै महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा उजुरी परेपछि गत जेठ १६ गतेभित्र सञ्चालकहरुलाई महानगरपालिकामा उपस्थित हुन पत्र काटेको थियो ।तर उक्त समयभित्र सहकारी सञ्चालकहरु उपस्थिति नभएपछि जेष्ठ ३१ गते फेरि महानगरपालिकाले सार्वजनिक सुचना नै जारी गर्दै सात दिनभित्र महानगरपालिका कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियाो ।तर सहकारीका सञ्चालकरुले त्यसलाईपनि अटेरी गरे ।

त्यसपछि असार २४ गते महानगरपालिकाले संस्थाका मुख्य सञ्चालक तथा संरक्षक जीबी राईसहितका सञ्चालकहरूलाई महानगरपालिकाको कार्यालयमै झिकाएर छलफल गरेको थियो ।उक्त छलफलमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था बारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए । यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमापनि पुगेको थियो ।तर अनुगमनमा पुग्दा त्यसदिन सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको शाखा प्रमुख कर्ण बताउँछन् ।

त्यसपछि गत भदौ ४ गते महानगरपालिकाले सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चलअचल सम्पति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो । महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख कर्णका अनुसार महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैङ्क खताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको थियो ।

यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एंव संरक्षक जिबी राई, अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको थियो ।

महानगरको उक्त सिफारिसपछि पर्सा जिल्ला अदालतले गत असोज पहिलो साता सहकारीका सञ्चालक, व्यवस्थापक , सदस्य र कर्मचारी सहित १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार,पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीका संस्थापक जीबी राई, वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थान बहादुर बुढा मगर, धीरजकुमार दास, पूर्वसदस्य अशोक यादव, प्रवन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियोे।

पक्राउ पूर्जी जारी भएकामध्ये अहिलेसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य व्याक्तिहरु भने फरार नै छन् ।रम्तेललाई काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो।पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम पनि हिनामिना गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।यादवलाई भने पर्सा प्रहरीले गत असोज ५ गते पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पूर्जी जारी भएका मध्ये फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको शाह बताउँछन् ।

बचतकर्ताहरुले जम्मा गरेको रकम फिर्ता माग्दै प्रदर्शन र धर्ना दिन थालेपछि वीरगन्जस्थित सहकारीको शाखाका कर्मचारीहरुपनि ६ महिनापहिले नै कार्यालय छाडेर सम्पर्कविहिन भइसकेका छन् । कार्यालयमा महत्वपूर्ण कगजात र उपकरणहरुपनि छैनन् । गत पुष २७ गते महानगरपालिकाले उक्त सहकारीको शाखा कार्यालय सिलपनि गरिसकेको छ ।
महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा बिहीबार वडाध्यक्ष जयप्रकाश अग्रवाल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव र प्रहरी सहायक निरीक्षक राम इश्वर महतोको रोहवरमा सहकारी सिल गरिएको महानगरको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखा प्रमुख कर्णले बताए ।

Related posts

६० किलो सुन तस्करी प्रकरणमा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार पक्राउ

MadhesKhabar

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

Leave a Comment