Madhes Khabar
अन्तरवार्ता

हामी बोलेर भन्दा पनि काम गरेर देखाउछौ : मेयर राजेशमान सिंह

मधेसखबर
वीरगन्ज,२८जेठः मधेस प्रदेशको एकमात्र महानगरपालिका होर पर्साको वीरगञ्ज । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार दुई लाख ६८ हजार दुई सय ७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भविष्यका योजना र कार्यक्रमका विषयमा मेयर राजेशमान सिंहसँग मधेस प्रदेसअन्तर्गत वीरगञ्जमा रहेको रासस कार्यालयका प्रमुख पुरुषोत्तम सुवेदीद्वारा गरिएको कुराकानीको सम्पादित अंश

महानगरको बागडोर सम्हाल्दै गर्दा तपाईँको मुख्य योजना र प्राथमिकता के–के छन् ?

वीरगञ्ज महानगरको हकमा मुख्य योजनाभन्दा पनि यहाँ सबैखाले योजना बनाएर सुरुबाटै काम गर्नुपर्ने भएको छ । मैले महानगरको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँको सेवा प्रवाह, महानगरले लगाएको ठेक्का, सरसफाइ, फोहर व्यवस्थापनलगायत सबैजसो क्षेत्र अस्तव्यस्त पाइएकाले सुरुबाटै काम गर्नुपर्ने देखिएको छ । आजको दिनमा तपाईँ वीरगञ्जको जुन क्षेत्रमा हेर्नुहुन्छ त्यतै गर्नुपर्ने काम देख्नुहुन्छ । तर यसो भन्दै गर्दा हामीले गर्नुपर्ने केही विशेष कामहरूको सूची पनि बनाएका छौँ । जुन हाम्रो प्रतिबद्धतापत्रमा पनि देख्न सकिन्छ । हामी बोलेर भन्दा पनि काम गरेर देखाउनेमा विश्वास राख्छौँ । हामी एक महिनाभित्रै जनताले अनुभूत गर्ने गरी केही परिणाममुखी काम गरेर देखाउने छौँ । चौतर्फी विकास मेरो मूल एजेन्डा हो, यस महानगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश सरकार, केन्द्रीय सरकार र विदेशी दातृ निकायसँग सहकार्य गरी महानगरपालिकालाई समृद्ध महानगरपालिका बनाउने मुख्य योजना छ ।

वीरगञ्ज मधेस प्रदेशको मुख्य स्थान मात्र नभइ आर्थिक दृष्टिकोणले पनि देशकै एक महत्त्वपूर्ण स्थान हो, आर्थिक विकासका लागि यहाँको योजना के छ ?

वीरगञ्ज मधेस प्रदेशको मात्र नभएर देशकै आर्थिक विकासमा टेवा दिन सक्ने औद्योगिक क्षेत्र भएको स्थान पनि हो । नेपालको आर्थिक विकासमा वीरगञ्जले हिजोदेखि नै महत्त्वपूर्ण योगदान दिँदै आएको छ । यसमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । त्यसैले निजी क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्नु महानगरपालिको पनि दायित्व हो । यसका लागि प्रदेश र सङ्घीय कानुन नबाझिने गरी र नियमअनुसार मिल्ने सहयोग गरेर यस क्षेत्रको आर्थिक विकासमा भूमिका निर्वाह गर्ने महानगरपालिकाको दायित्व हो ।

वीरगञ्ज महानगरको वर्तमान अवस्थाका बारेमा जनतालाई जानकारी गराउन श्वेतपत्र जारी गर्ने निर्णय गर्नुभएछ । त्यसको आवश्यकता किन देख्नुभयो ?

काम सुरु गर्नुभन्दा पहिला वीरगञ्ज महानगरपालिकाको वर्तमान अवस्था महानगरवासीले थाहा पाउन जरुरी हुन्छ । अहिलेसम्म महानगरपालिकामा फिल्डमा भन्दा कागजमा बढी काम भएका छन् अर्थात् महानगरपालिकाको विकासका लागि भएका धेरैजसो काम पारदर्शी छैनन् । श्वेतपत्रमा अहिलेको अवस्था र त्यसको सुधारका लागि श्वेतपत्र जारी गर्ने तयारी गरेका छौँ । यसले आउँदा दिनमा मेरो नेतृत्वमा भए गरेको कामलाई जनतालाई मूल्याङ्कन गर्न थप सजिलो हुनेछ ।

जनताले तपाईँलाई सिधै आफ्नो कुरा राख्न मिल्ने गरी गुनासो व्यवस्थापन (हेल्पलाइन) केन्द्र स्थापनाको काम किन अगाडि बढाउनुभयो ?

जनतालाई परिणाम देखिने गरी काम गर्ने हामी जनप्रतिनिधिको चाहना हुन्छ । मैले पनि चुनावको समयमा जनतासामु गरेका सबै प्रतिबद्धता पूरा गर्नु छ । जनताको सुझाव, सल्लाह नलिइ म अघि बढ्न सक्दिनँ । तसर्थ अनलाइनबाट सिधै महानगरपालिकाका प्रमुख अथवा मसँग जनताले आफ्नो गुनासो सुझाव, सल्लाह दिन मिल्ने गरी अनलाइन प्रविधि व्यवस्थापनको काम अघि बढेको छ । यसले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई घनिष्ठ तुल्याउने छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा तपाईँको प्राथमिकताको योजनाहरू के–के छन् ? कसरी अगाडि बढाउने सोच्नुभएको छ ?

सबैभन्दा पहिलो कुरा यस महानगरपालिकाभित्र सडक सञ्जाल विस्तार गर्ने र त्यसलाई स्तरीय बनाउनु हो । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाका सबै वडामा अझसम्म सडक सञ्जाल पुग्न सकेको छैन । त्यसैले सबै वडालाई सडक सञ्जालमा जोड्ने मेरो मुख्य लक्ष्य छ । त्यसपछि नाला, कल्भर्ट, पुलपुलेसालगायतका अन्य आवश्यक भौतिक पूर्वाधारण निर्माणको काम अघि बढाइने योजना छ । व्यवस्थित सडक सञ्जालले महानगरपालिकाभित्रका अन्य विकास निर्माणका काम गर्न पनि सहज हुन्छ ।

जनशक्ति विकासका लागि प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासका लागि तपाईँको योजनाहरू के छन् ?

विशेषगरी गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथमिकता हो । शिक्षामा खेलबाड गर्न पाइँदैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालय सरह शैक्षिक गुणस्तर सुधार गर्ने मेरो योजना छ । शिक्षा क्षेत्रमा मूलरूपमा दरबन्दीको पनि समस्या देखिएको छ । त्यसलाई हल गर्नका लागि हामी सबै विद्यालय र शिक्षकको विवरण सङ्कलन गर्छौँ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकहरूलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना रहेको छ । वातावरण बनाइसकेपछि हामीले वीरगञ्जको शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउने छौँ । भएका विद्यालयमा पनि प्राविधिक कक्षाहरू सञ्चालन गर्ने र नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गर्ने भनेर हाम्रो प्रतिबद्धतापत्रमा समेत उल्लेख गरेका छौँ । त्यसलाई मूर्तरूप दिने गरेर हाम्रो काम अगाडि बढ्छ । निजी शैक्षिक संस्थाहरूलाई पनि कानुनी दायरामा ल्याएर सहजीकरण गरिने योजना छ ।

स्वास्थ्य क्षेत्रको सुघारका लागि तपाईँको योजना के छ ?

समग्रमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई विज्ञहरूसँग छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ । महानगरपालिका क्षेत्रभित्र रहेको सरकारी वा निजी स्वास्थ्य संस्थालाई पनि आवश्यकताअनुसार नियमन गरिने छ ।

स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा वीरगञ्जमा सङ्घीय सरकारअन्तर्गतको नारायणी अस्पतालमात्र देखिन्छ, यो क्षेत्रमा तपाईँको योजना के छ ?

नारायणी अस्पताल सङ्घीय सरकारको मातहतमा भए पनि आखिर वीरगञ्ज महानगरपालिकाभित्रै छ । महानगरवासीले पनि सेवा लिएकै छन् । गुणस्तरीय सेवा र सेवा वृद्धि गर्न महानगरपालिकाले के गर्न सक्छ, नारायणी अस्पतालसँग हातोमालो गर्न तयार छौँ । यस अस्पतालबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम गर्नेछौँ ।

महानगरपालिका फोहरमैला व्यवस्थापन पनि ठूलो चुनौतीको रूपमा रहेको छ । यसलाई कसरी समाधान गर्न योजना बनाउनुभएको छ ?

फोहोर व्यवस्थापन हुन नसकेकै कारण वीरगञ्जमा बढी प्रदूषण पनि देखिएको छ । सबैभन्दा पहिला त २० औँ वर्षदेखि सफा हुन नसकेका ठूला नाला सफाइ तथा अन्य नालाहरू पनि सफाइ गर्ने काम हामीले सुरु गरी नै सकेका छौँ । दोस्रो महत्त्वपूर्ण कुरा फोहोर व्यवस्थापनका लागि यहाँका नागरिकले पनि उत्तिकै साथ दिन जरुरी छ । यसको पूर्वाधार विकासका लागि महानगरपालिकाले सहयोग गर्न तयार छ । हामीले सडक धेरै बढा¥यौँ । अब फोहोर व्यवस्थापन गर्न नजानेका अथवा अज्ञानता भएका नागरिकको दिमाग बढार्न जरुरी छ । सोचाइबाट फोहर बढार्न सकिएको खण्डमा धेरै हदसम्म फोहर आफैँ व्यवस्थापन हुने कुरा हो । विदेशी देशहरूमा हेर्ने हो भने फोहोर व्यवस्थापनमा सरकारले धेरै लगानी गरेको पाइँदैन । व्यवस्थापनमा बढी जोड दिएको पाइन्छ ।

वीरगञ्ज महानगरपालिकाको हकमा फोहोर व्यवस्थापनको नाममा वार्षिक झन्डै नौ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइन्छ । तर पनि सुधारको अवस्था छैन । यसअघिको नेतृत्वले पनि फोहर व्यवस्थापनबारे कुनै प्रभावकारी कदम चालेको पाइएन । त्यस कारण हामीले अहिले जारी गर्ने भनिएको श्वेतपत्रमा पनि यी विषयहरूलाई समेट्ने छौँ । त्यसपछि विज्ञहरूको राय लिएर नयाँ शिराबाट फोहोर व्यवस्थापनको काम गरिनेछ ।

महानगरपालिकामा देखिएको सेवाप्रवाहमा ढिलासुस्ती र लापर्बाहीलाई व्यवस्थापन गर्ने तपाईँको योजना के छ ?

सबैभन्दा पहिलो कामका प्रकृति, क्षमता र क्षमताअनुसार कर्मचारीहरूलाई दक्षता र सीपका आधारमा जिम्मेवारी बाँडफाँट गर्छु । वडासम्म दिन सकिने अधिकारलाई वडासम्म जनताको काम विना लापर्बाही विना झन्झिटलो बनाउने कोसिस गर्छु । यद्यपि सबै कर्मचारी पनि खराब छन् भनेर म भन्दिन तर पनि केही खराब प्रवृत्तिका कर्मचारीलाई एक पटक सुधार गर्ने मौका दिन्छु । सुधार नभए नियमअनुसार कारबाही प्रक्रिया अघि बढाउँछु ।

यो महानगरपालिको प्रमुख भइरहँदा तपाईँले यो पदको अवसर र चुनौतीलाई कसरी लिनुभएको छ ?

अवसरभन्दा चुनौतीको पहाड मेरो अगाडि रहेको छ, त्यसलाई मैले पूरा गर्न सक्छु भनेर नै मैले स्पष्ट सोच र योजना बनाएको छु । पहिले थालनी गरेर पूरा नभएका धेरै योजनाहरू अलपत्र परेका छन् । फिल्ड वा वास्तविक स्थानमा भन्दा कागजमा बढी प्रगति देखाइएको छ, भएका काम पनि गुणस्तरयुक्त छैनन् । यी सबै चुनौतीको सामना गरी महानगरवासीको हितका लागि भ्रष्टाचार शून्य महानगरपालिका बनाउने लक्ष्य छ । भ्रष्टाचारले सुशासन हुन दिँदैन । सुशासनविना विकास सम्भव हुँदैन ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

म जनताको महानगरपालिकाको प्रमुख भएर होइन, जनताको सेवक भएर काम गर्न चाहन्छु । सबै जनताबाट म सुझाव, सरसल्लाह र सहयोगको अपेक्षा गर्दछु । सहीलाई सही र गलतलाई गलत भन्न म सबैमा अनुरोध गर्न चाहन्छु । यदि मैले गलत गरेको छु भने राजेशमान तैँले गलत गरिस् भनेर मलाई जनताले भन्नुप¥यो, सही काम गरेको छु भने पार्टीभन्दा माथि उठेर मलाई साथ दिन पनि म सबैमा अनुरोध गर्न चाहन्छु । नेतृत्व लिएको एक सय दिनसम्ममा जनतालाई महसुस हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

Related posts

पत्रकार गिरिश गिरी भन्छन् – स्वर्गीय गोपाल गिरीको सपना पुरा गर्न वीरगन्जको मेयरमा उम्मेदवारी दिएको हु

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो

MadhesKhabar

Leave a Comment