
मधेसखबर
वीरगन्ज,२१जेठः प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक वा मंसिर भित्रै प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुने बताएका छन् ।
सत्ता गठबन्धन भित्र चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले भने कात्तिक वा मंसिरमै चुनाव हुने बताएका हुन् ।
काठमाण्डौमा शनिबार हाफ म्याराथुन प्रतियोगिताको उद्घाटनपछि सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले ’हामी सरसल्लाह गर्दैछौं , कात्तिकमै गरे पनि हुन्छ , ढिलो ग¥यो भने झन् विवाद हुन्छ ,गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ,’ ।
देउवाले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताए । उनले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको उल्लेख गरे । गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।

