
मधेशखबर
बैशाख २९ , २०७९
निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने जनाएको छ । नमूना मतपत्र लगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको जनाएको हो । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई आयोगले यसअघि नै पत्राचार गरीसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यस्तै स्थानीय तहको चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरीएको छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि आयोगले सबै पक्षलाई अपिल गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ ।

पालिका चुनावमा विभिन्न राजनीतिक दलका गरी तीन सय ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् । यसपालीको चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ–आफ्mनो मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ । स्थानीय तहको चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

