
मधेसखबर
वीरगन्ज , २६ बैशाख : पर्साको बहुदरमाइ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार शीव पटेलले विपक्षी दलले निर्वाचन अचारसंहिता ठाडै उल्लेघन गरिरहेपनि निर्वाचन कार्यालय र स्थानीय प्रशासनले कुनै वास्ता नगरेको आरोप लगाएका छन् ।
वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर एमाले मेयर उम्मेदवार पटेलले निर्वातमान मेयर र वडाअध्यक्षहरुले रकमको चलखेल गरेर मतदातालाइ प्रभावित पार्ने काम गरिरहेको आरोप लगाए ।
रकमी चलखेलको जनताले प्रतिवाद गर्दा वादविवाद र झडप पनि भएको तर निर्वाचन कार्यालय र प्रहरी प्रशासनले भने मुकदर्शक बनेर बसेको पटेलले आरोप लगाए ।
बैशाख ३० को मिति नजिकदै जादा दुइ चार दिन यता देखि दिनहु विपक्षी दलका उम्मेदवारहरुले गलत हर्कत र गतिविधी गर्दै आएपछि जनताले प्रतिवाद गर्दा अवस्था तनावपूर्ण बन्दै गएको पटेलले बताए ।
यसअघि पैसाको बलमा फेरि चुनाव जिति हाल्छौ भनेकाहरुले नै अहिले रकम बाँडेर मतदातालाइ प्रभावित गर्न खोजी रहेको उनले बताए ।
दुइ दिन पहिले वडा नम्बर २ सिसियाडी बैरीयामा निवर्तमान वडा अध्यक्ष र अहिलेका काँग्रेस उम्मेदवार जितेन्द्र पटेलले रातिको ११ बजे पैसा बाड्न आएका बेला जनताले प्रतिवाद गर्दा अवस्था निक्कै तनावपूर्ण बनेको उनले सुनाए ।
आइतबार राति पनि वडा नम्बर ९ विश्रामपुरमा निवर्तमान मेयर समेत रहेका काँग्रेसका मेयर उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर प्रतिवाद गरेको त्यस क्रममा एक जनाको हात पनि भाचिएको पटेलले बताए ।
तर आरोप भने एमालेका उम्मेदवारहरु माथि लागेको भन्दै पटेलले भने ,‘ हामीलाइ पैसाले भोट किन्ने आवश्यकता नै छैन ,जनता माथि भरोसा छ , हामी जनताको मतले चुनाव जित्छौ ।
बहुदरमाइ नगरपालिकामा दिनहु यस्ता घटना भइरहेपनि निर्वाचन कार्यालय र प्रहरी प्रशासनले भने कुनै कदम नउठाएकाले अवस्था झन बिग्रने देखिएको पटेलले बताए ।
बैशाख २७ गते राति देखि मौन अवधी शुरु हुने र त्यो अवधीमा पैसाको चलखेल झन धेरै हुने सम्भावना देखिएको भन्दै पटेलले भने ,‘ प्रहरी प्रशासनलाइ म आग्रह गर्छु , अबको ४ दिन जोगाइ दिनुस् नत्र अवस्था झन भयावह पनि हुन सक्छ । उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाइ दिन निर्वाचन कार्यालय र प्रहरी प्रशासनसंग आग्रह पनि गरे ।

