
मधेसखबर
वीरगन्ज, २५ बैशाख : जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट वीरगन्ज महानगरको मेयर उम्मेदवार राजेशमान सिंहले गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा आइतबार वडा अध्यक्षका उम्मेदवार आशुतोष चर्तुवेदीसंगै घरदैलो कार्यक्रम गरेका राजेशमानले भने ,‘ विगतको नेतृत्वले गरेका अनियमितता र विकृति जनताले देखिसकेका छन्, त्यसैले बैशाख ३० का दिन जनताले गठबन्धनका साझा उम्मेदवारलाइ मत दिएर जिताउनेमा म ढुक्क छु ।
गठबन्धनको समेत उम्मेदवार रहेका राजेशमानले जसपा र गठबन्धनले वीरगन्ज र वीरगन्जवासीको विकास र समृद्धिको एजेण्डा बोकेर हिडेकाले जनताको समर्थन र साथ पनि पाइरहेको जिकिर गरे ।
उनले महानगरमा यसअघि जितेका जनप्रतिनिधीहरुले राजा बनेर शासन गरेको आरोप लगाउदै ती राजा बनेकाहरुलाइ जनताले यसपालीको चुनावमा गतिलो जवाफ दिने पनि बताए ।
सिर्सियमा भएको चुनावी घरदैलो कार्यक्रममा वडाअध्यक्षमा जसपाका उम्मेदवार आशुतोष चर्तुवेदी , जसपाका नेताहरु प्रेमबाबु पटेल ,मुकेश द्विवेदी युवा नेता नीरज पाण्डे लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

