Madhes Khabar
Uncategorized

वीरगन्जमा पनि काँग्रेसले खाता खोल्यो , मधेसमा नौ जना निर्विरोध निर्वाचित

क्रान्ति शाह
वीरगन्ज,२५ बैशाख :
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा मधेस प्रदेशमा ९ जना निर्विरोध निर्वाचित भएका छन् ।
पर्सामा २ दलित महिला सदस्य सहित मधेस प्रदेशमा ९ जना निर्विरोध निर्वाचित भएका हुन् । मधेस प्रदेशमा निर्विरोध निर्वाचत हुने सबै जना महिला हुन् ।
बैशाख ११ र १२ गते भएको मनोनयन दर्तामा एकल उम्मेदवारी परेका कारण उनिहरु निर्वाचित भएका हुन् ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ६ को दलित महिला सदस्यमा काँग्रेसकी सुशीला परियार र पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ को दलित महिला सदस्यमा जसपाकी बसन्ती देवी मुसहर निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै बारामा भने ३ जना निर्विरोध निर्वाचित भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ को महिला सदस्य पदमा काँग्रेसकी फुलमति थरुनी , जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ को दलित महिला सदस्यमा एमालेकी लालमनि देवी ठाकुर र निजगढ नगरपालिका वडा नम्बर ३ को महिला सदस्य पदमा एमालेकै बुरगाना कुमारी लामा निर्विरोध निर्वाचित भएका हुन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ३ को दलित महिला सदस्यमा काँग्रेसकी इन्दु देवी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ को दलित महिला सदस्यमा काँग्रेसकै रिपु कुमारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ७ को दलित महिला सदस्यमा माओवादी केन्द्रकी कलीमाया र मनरासिसवा नगरपालिका वडा नम्बर ८ को दलित महिला सदस्यमा लोसपाकी जानकी देवी पनि निर्विरोध निर्वाचत भएको निर्वाचन आयोगले जनाएको छ ।
देशभर ३९० जना निर्विरोध
देशभर भने तीन गाउँपालिका अध्यक्ष सहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।
३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते चुनाव हुँदैछ । तर गएको ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले तीन अध्यक्ष सहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेको छ ।
पालिका चुनावका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध निर्वाचित भएका हुन् । आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अङ्गदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा एकिर्कत समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा एकिकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश–१ मा ४३, मधेस प्रदेशमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

Related posts

वीरगन्जको जगरनाथपुरमा पुग्दा एमाले उम्मेदवार प्रदीप यादवलाई गरियो भव्य स्वागत

MadhesKhabar

डेल कम्पनिको नक्कली २५९ थान कम्युटरसहित दुई व्यपारी पक्राउ

MadhesKhabar

वीरगन्ज–२९ रतनपुरमा कांग्रेस उम्मेदवार चौरसियाले अगुवा कार्यकर्ताहरुसंग गरे भेटघाट

MadhesKhabar

Leave a Comment