
क्रान्ति शाह
वीरगन्ज,२५ बैशाख :बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट जसपाका एक कार्यकर्ता गम्भिर घाइते भएका छन् ।
सुवर्ण गाँउपालिका वडा नम्बर २ मा जसपा उपम्मेदवारका लागि भोट माग्न गएका जसपाका कार्यकर्ता सौरभ कुमार यादवलाइ काँग्रेसका कार्यकर्ताहरुले मरणासन्न हुने गरि कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भिर घाइते भएका सौरभको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
टाँउको गम्भिर घाउ र शरिरमा चोट लागेका सौरभको मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वडा नम्बर २ मा जसपाका सौरभ यादव लगायतका कार्यकर्ताहरु भोट माग्न जाँदा कांग्रेसका ब्रह्मा यादव, शेषनाथ यादव, पप्पु यादव, राजेश्वर यादव लगायतले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
शनिवार रासत सौरभलाई मरणासन्न हुनेगरी कुटपिट गरेर फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले तत्काल उद्दार गरेर उपचारको लागि अस्पताल पठाएको हो । घटना लगत्तै सुवर्ण गाउँपालिकाको कबहीमा रहेको प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी गराएपनि दोषीहरुलाइ पक्रन प्रहरीले चासो नलिएको घाइते सौरभका आफन्तले आरोप लगाएका छन् ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले भने सुवर्ण गाउँपालिकामा शनिवार राति भएको घटनाको विषयमा आफुलाइ अहिले सम्म जानकारी नै नआएको बताए । यस बारेमा अब मातहतका प्रहरीलाइ बुझन निर्देशन दिइने उनले बताए ।

