Madhes Khabar
हेडलाइन

वीरगन्जमा भड्किलो प्रचार , कार्वाही गर्ने निकाय मुकदर्शक

क्रान्ति शाह
वीरगन्ज, २४ बैशाख
:राजनीतिक दल र उम्मेदवारले मतदाता रिझाउन गरिरहेका चुनावी प्रचार भड्किलो देखिएको छ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्जमा निर्वाचन आचार संहिताको उल्लंघन गरेर दल र उम्मेदवारहरुले भड्किलो प्रचार गरिरहे पनि नियमन र कार्वाह गर्ने निकाय भने मौन बसेको छ ।
चैत २५ गते देखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको भएपनि वीरगन्ज महानगरमा कुनै पनि दल र उम्मेदवारले त्यसको पालना गरेका छैैनन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता दस्तावेजमा मात्रै सीमित बन्दैछ। यसको पालन गर्नुपर्ने कुनै पनि पक्ष संवेदनशील बनेका छैनन्। वीरगन्जमा अहिले देखिएको चुनावी माहोलले निर्वाचन आचारसंहितालाई औपचारिकतामा मात्रै सीमित गराएको महसुस सबैलाई हुन्छ ।
आचारसंहितको परिच्छेद ४ को दफा १२ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क लकेट वा अन्य कुनै पनि किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नपाउने उल्लेख छ । तर वीरगन्जमा अहिले अफसेट प्रिन्ट, छापाखाना र कलर प्रिन्ट सञ्चालकलाई झन्डा, ब्यानर भेष्ट र टिसर्ट छाप्न भ्याइनभ्याइ छ ।
यस्तै आचारसंहिताको परिच्छेद ४ को दफा १२ (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ। तर वीरगन्जमा सर्वसाधारणको घर र पर्खालको भित्ता दलका प्रचार सामग्रीले रंगिएका छन् ।


यस्तै ध्वनी प्र्रदुषणलाइ स्थानीय प्रशासनले बन्देज लगाएको भएपनि उम्मेदवारहरुले इरिक्सा , अटो , म्याजिक भ्यान लगायतका सवारी साधनमा ठूल् ठूला डिजे साउण्ड , लाउडस्पीकर र हर्न राखेर टोल टोलमा चुनावी गित र नारा बजार घुमाइरहेका छन् । जसका कारण गाउँ, सहर सबैतिर ‘कोलाहल’ कै वातावरण बनेको स्थानीयले गुनासो गरेका छन् ।निकै चर्को स्वरमा बज्ने यस्ता चुनावी प्रचार गीतहरूले सर्वसाधारणलाई आकर्षित गर्नुभन्दा पनि ध्वनि प्रदूषण र दिक्क लगाउने काम मात्रै गरेको वीरगन्जवासी बताउँछन् ।


आचारसंहितामा उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाईएको ३×३ फिटको दलको झन्डा र त्यही नापको चुनाव चिन्ह बाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने उल्लेख छ ।तर महानगरका हरेक चोक , विद्युतका पोल , विद्यालय , मठमन्दिर , सरकारी कार्यालय लगायतका स्थानमा उम्मेदवारहरुले आफनो ब्यानर ,झण्डा , तोरण , पोेस्टर राखेका छन् ।


तर निर्वाचन कार्यालय र स्थानीय प्रशासनले कुनै नियमन नगरेका कारण आचार संहिता उल्लंघन गर्ने दल र उम्मेदवारहरुको मनोबल झनै बढेको छ ।
पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले भने आचारसंहिता विपरित प्रयोग गरिएका चुनावी सामाग्रीहरु सार्वजनिक स्थलबाट हटाउने काम शुरु गरिसकेको बताए ।
दल र उम्मेदवारहरूलाई आचारसंहिता पालनाका लागि सम्झाउने बुझाउने काम गरिरहेको उनको भनाइ छ ।
तर अहिले सम्म कुनै पनि उम्ममेदवार र दलका नेता विरुद्ध लिखित उजुरी नपरेकाले कार्वाह गर्न नसकिएको पौडेलले बताए ।
लिखित उजपुरी परे कार्वाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिने उनको भनाइ छ ।

Related posts

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

Leave a Comment