
प्रमोद यादव
वीरगन्ज,२३ बैशाख : पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहामा स्थानीय मंगल बहादुर ब्लोनको घरमा गोली प्रहार एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा औराहाकै २७ वर्ष २२ वर्षिय सल्टु महत्तो रहेका छन् ।
महत्तोलाइ प्रहरीले शुक्रबार बिहान बिहान ९.३० बजे उनकै घरबाट बन्दुक सहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
महत्तोको घरबाट एक नाले १२ बोरको बन्दुक पनि बरामद गरिएको खनालले बताए ।
पक्राउ परेका महत्तोलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसकेपनि चुनावमा स्थानीयवासीलाइ त्रसित पार्न र व्याक्तिगत रिसबी फेर्न महत्तोले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सखुवा प्रसौनी गाँउपालिका १ औराहा स्थित जंगल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घर लक्षित गरि बिहीबार राति ९.३० बजे तिर महत्तोले १२ बोरको बन्दुकबाट ३ राउण्ड गोली प्रहार गरेका थिए ।
महत्तोले प्रहार गरेको गोली , ब्लोनको घरको बाँसको टाटी छेडेर घर भित्र रहेको चामलको बोरामा लागेको अवस्था भेटिएको थियो । चामलको बोरा भित्र कटुवा पेस्तोलको गोलीको टुक्रा भेटिएको थियो ।
स्थानीयवासीले भने ब्लोनको घर नजिकै नेपाल सुशासन पार्टीको चुनावी भोज चलिरहेको र नजिकै स्थानीय समुदायको अर्को बैठक चलिरहेका बेला गोली चलेको बताएका थिए ।

