
मधेस खबर
वीरगन्ज, १९ बैशाख : छिमेकि मुलुक भारतमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्लो समय भारतका विभिन्न प्रान्तहरुमा फेरि कोरोना संक्रमणको दर बढ्न थालेकोले भारतसंग खुल्ला सीमा जोडिएको नेपालमा पनि फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको बिहारसंग खुल्ला सीमा जोडिएका पर्सा , बारा सहितका आठ वटा जिल्ला उच्च जोखिममा रहेको वीरगन्जका डाक्टरहरुले पनि बताएका छन् ।
भारतमा संक्रमण दर बढेसंगै नेपालमा पनि त्यहि अवस्था आउन सक्ने जोखीम रहेको कुरा विगतका दुइ चरणको लहरले पुष्टि नै गरिसकेकोले विशेष गरि पर्सा , बाराका जिल्लाहरुमा स्वास्थ्यका मापदण्ड अपनाउनु नितान्त आवश्यक रहेको यहाका डाक्टरहरुको भनाइ छ ।
्नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले भारतमा संक्रमण दर बढेसंगै नेपालमा पनि त्यहि अवस्था आउन सक्ने जोखीम रहेको कुरा विगतका दुइ चरणको लहरले पुष्टि नै गरिसकेकोले स्वास्थ्यका मापदण्ड अपनाउनु नितान्त आवश्यक रहेको बताए ।
उनले भने ,‘ पहिलो लहरमा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको थियो ।
त्यसैले अहिले भारतमा फेरि संक्रमण दर बढ्दै गइरहेकाले पर्सा , बारा सहितका खुल्ला सिमा जोडिएका नाकाहरु उच्च जोखीममा रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु अति आवश्यक रहेको सिंहले बताए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले नेपालमा कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताए ।
उनले भने ,‘ छिमेकी मुलुक भारतमा फेरि संक्रमण बढिरहेको छ ,हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ , हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ ।
अहिले चुनाव लगायतका कारणले भाररत सहित विदेशमा भएका नेपालीहरु घर फर्किरहेको अवस्थामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ ।

