
मधेसखबर
वीरगन्ज, १७ बैशाख : इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले चुनावभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ ।
सरकारको असहयोगका कारण अर्को हप्ता देखि नै नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी आइस्पानले दिएको हो ।
इन्टरनेट खरिद गरे वापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण बैशाख ३० को चुनावको बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले शनिवार एक विज्ञप्ति निकाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर लागिरहेको आभास भएको छ, किनकि विगत ६ महिना देखि इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको छ । निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुत्साहित गरी सिध्याउन खोज्ने प्रवृत्तिको विरोध गर्दै चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्नेछ’, ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फी लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेको आइस्पानले जनाएको छ । त्यसैले ६ महिना देखि भुक्तानी गर्न नसक्दा अर्को हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आउने आईस्पानको भनाइ छ ।
आइस्पान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै नियतवश इन्टरनेट सेवा बन्द गर्न विदेशी मुद्रा सिफारिस रोकेको जस्तो देखिएको आरोप पनि लगाएको छ ।सन्चार मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेक बहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको भन्दै आइस्पानले इन्टनेट सेवा प्रदायकले विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेको अवस्थाले गर्दा टिभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको जनाएको छ ।

