बारा,९कार्तिक:डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले फेरि बारामा रहेका जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरन उद्योगको बिजुलीकाे लाइन काटेको छ ।
यस्तै अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलकोपनि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना निकालेको थियो । महसुल तिर्न दिएको समय बिहीबार कार्तिक ८ गते सकिएसँगै प्राधिकरणले राति ती उद्योगको बिजुलीकाे लाइन काटेको हो ।
किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे निर्णय गर्न बिहीबार बिहान प्राधिकरणको सञ्चालक समितिको बैठक बसे पनि निष्कर्षविहीन भएको थियो । बैठक निष्कर्षविहीन भएपछि प्राधिकरणले बिहीबार बेलुकादेखि उद्योगको लाइन काट्न थालेको हो ।
त्यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री दिपक खड्कालाई भेटेर बिजुली नकाट्ने हो भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उद्योगको बिजुली काट्न थालिएको हो ।
डेडिकेडेट फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भइरहेको छ ।

