
क्रान्ति शाह
वीरगन्ज, १७ बैशाख :स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये पर्सामा ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि शुक्रबार बिहान १० देखि साँझ ५ बजे सम्म समय दिएकोमा पर्सामा ४१ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
पर्सामा पालिका प्रमुखका ४ जना , वडा अध्यक्षका १३ जना, वडा सदस्यका १७ जना ,महिला सदस्यका ४ जना र दलित महिला सदस्यका ३ जना गरि ४१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
वीरगन्ज महानगरपालिकामा वडा अध्यक्षका ४ , वडा सदस्यका ४ र दलित महिला सदस्यका १ गरि ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ती मध्ये ७ जना राजनीतिक दलका र बाँकी २ जना स्वतन्त्र उम्मेदवार थिए ।
बहुदरमाइ नगरपालिकामा भने मेयरका १ जना सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल सुशासन पार्टीबाट मेयरमा उम्मेदवारी दिएका आदेश प्रसाद यादव सहित १ जना वडा अध्यक्ष , ९ जना वडा सदस्य र १ जना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पोखरीया नगरपालिकामा भने १ जनाको मात्रै उम्मेदवारी फिर्ता भएको छ । वडा नम्बर ५ को महिला सदस्यमा नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएकी कुसुम तारा खातुनले मात्रै उम्मेदवारी फिर्ता लिएकि हुन् ।
पर्सागढी नगरपालिकामा पनि १ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । वडा नम्बर ७ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र्रबाट मनोनयन दर्ता गराएका रामशरण राउत कुर्मीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पटेर्वासुगौली गाँउपालिकामा भने १ वडा अध्यक्ष र १ दलित महिला सदस्य गरि २ जनाको उम्मेदवारी फिर्ता भएको छ ।
ठोरी गाँउपालिकामा भने पालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिनु भएका गंगा बहादुर खड्काले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।
जिराभवानी गाँउपालिकमा दुइ वडा सदस्य र एक महिला सदस्य गरि ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कालीकामाइ गाँउपालिकामा भने वडा अध्यक्षका ३ जना उम्मेदवारले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।
सखुवा प्रसौनी गाँउपालिकामा भने वडा अध्यक्षका १ र महिला सदस्यका १ गरि २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
धोबिनी गाँउपालिकामा पालिका अध्यक्षका १ र वडा अध्यक्षका १ गरि २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जगरनाथपुर गाँउपालिकामा पालिका अध्यक्षका १ जना , वडा अध्यक्षका १ जना र महिला सदस्यका १ जना गरि ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
छिपहरमाइ गाँउपालिकामा वडा सदस्यका २ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

