
क्रान्ति शाह
वीरगन्ज, १४ बैशाख : नेपाली काँग्रेस वीरगन्ज महानगर कार्य समितिले चुनावको पुर्वसन्ध्यामा पार्टी छाडेर अरु दलमा गएका र स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाइ काँग्रेसमै फर्किन अपिल गरेको छ ।
बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै काँग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली श्रेष्ठले अरु दलमा गएका र स्वतन्त्र उम्मेदवारी दिएका स्थानीय नेता कार्यकर्ताहरुलाइ काँग्रेसमै फर्किन आह्वान गरेका हुन् ।
महानगरसभापति श्रेष्ठले काँग्रेसमा वर्र्षाै देखि राजनीतिक जीवन व्यवतित गरेका नेता कार्यकर्ताहरु अहिले चुनावी गठबन्धनका कारण उचित स्थान नपाएर रुष्ट हुदै अन्य दलमा प्रवेश गरेको र केहिले स्वतन्त्र उम्मेदवारी पनि दिएकाले चिन्तित बनाएको बताएका छन् ।
दशकौं देखि प्रतिबद्ध पार्टीका नेता कार्यकर्ताहरु माथि अन्याय भएको स्वीकार्दै श्रेष्ठले विज्ञप्ति मार्फत भनेका छन् ,‘ अन्याय भएको छ मलाइ थाहा छ तर अहिलेको विषम परिस्थितीमा काँग्रेस नेतृत्वले अप्रिय निर्णय लिएको कुरा हामी सबैले बुझनु पर्छ ।
त्यसैले नेतृत्वको यो बाध्यात्मक निर्णयलाइ स्वीकार्नु नै अहिलेका लागि बुद्धिमानी हुने भन्दै श्रेष्ठले फेरि पुरानै आफनो घर (काँग्रेस) मा फर्कन असन्तुष्ट नेता कार्यकर्तालाइ अपिल गरेका छन् ।
यसअघि बुधबार नै नगरसभागृहमा काँग्रेस पर्साले आयोजना गरेको महानगरका काँग्रेस उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा पनि महानगर नगरसभापति श्रेष्ठले काँग्रेस छाडेर गएका स्थानीय नेता कार्यकर्ताहरुलाइ अपिल गरेका थिए ।

काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको उक्त परिचयात्मक कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्मा , जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता संविधानसभा सदस्य अनिल रुंगटा , वीरगन्जको उपमेयरका उम्मेदवार इम्तियाज आलम , महानगरका ३२ वटै वडामा वडा अध्यक्ष र सदस्यमा काँग्रेसबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरु लगायतको सहभागीता रहेको थियो ।

