काठमाडौं,१३जेठ : एसियन गेम्स महिला क्रिकेट छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वाललाम्पुरस्थित वायोमास ओभलमा बुधबार भएको खेलमा नेपालले दिएको १२६ रनको विजयी लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै जोड्न सक्यो ।
चीनको लागि कप्तान मिङ्विइ जुले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् । ओपनरद्वय जियापिङ लिले १५ र वेइ हेइटिङले १८ रन बनाए । वाङ हुइङले २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि रिया शर्माले २ विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र पुजा महतोले १–१ विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । नेपालका लागि उपकप्तान पुजा महतोले ६३ रनको अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गरेकी हुन् । उनले चौथो विकेटका लागि रुबी पोदारसँग ६४ रनको साझेदारी बनाएकी थिइन् । रुबीले व्याक्तिगत २२ रन बनाइन् । कप्तान इन्दु बर्मा डकआउट भइन् । चीनको लागि मा रुइकीले सर्वाधिक २ विकेट लिइन् । वाङ हुइङ र जाइपिङ लिले १–१ विकेट लिए । यस प्रतियोगिताको शीर्ष ३ टोलीले जापानमा हुने एसियन गेम्समा भाग लिन पाउने छ ।

