Madhes Khabar
समाचार हेडलाइन

पर्सामा लागूऔषध तस्करी बढ्दो, वैशाखमा मात्रै ३१ जना पक्राउ

वीरगन्ज,१२जेठः भारतसँगको खुला सीमाका कारण पर्सामा लागूऔषध सेवनकर्तासँगै तस्करीपनि बढ्दै गएको देखिन्छ । वैशाख महिनामा मात्रै ३१ जना लागूपदार्थका तस्करलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । जसबाट प्रहरीले कुल ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस र ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ ।

गत शनिबार राति खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित पर्सा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट प्रहरीले ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरेको हो ।

त्यसअघि २५ वैशाखमा पनि प्रहरीले भारतबाट नेपालतर्फ आउनेक्रममा वीरगन्ज–१६ स्थित शंकारचार्य गेट चेकपोष्टमा चार जना लागूऔषध तस्करलाई नियन्त्रणमा लिएको थियो । ६ सय मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षिय विकासकुमार साह र २३ वर्षिय कविन पराजुली तथा ५ ग्राम खैरो हेरोइन र शून्य दशमलव २५ मिलिग्रिाम सेतो हेरोइन २० वर्षिय सागर घिमिरे र २३ वर्षिय पूजा जिम्बा पक्राउ परेका हुन् ।

त्यसको भोलीपल्ट पनि प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षिय अन्जन थापा र १९ वर्षिय रोमश बम्जन तथा ५३ वटा प्रतिबन्धित ट्याब्लेटसहित ३७ वर्षिय राजु बनियाँ र ५२ वर्षिय अलिहदन मियाँलाई नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ नै चलाएपछि यस क्षेत्रबाट दैनिकजसो साना स्तरका लागूपदार्थ तस्करलाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरी रहेका कैदी बन्दीमध्ये झण्डै आधाजसो लागूऔषध मुद्दाका रहेका छन् । पछिल्लो समय लागूऔषधसहित पक्राउ पर्नेहरूमा महिलाहरुको संख्या पनि बढ्दै गईरहेको प्रहरीको तथ्यांक छ । लागूऔषधका कुलत लागेकाहरुले भारतबाट लुकाइछिपाइ लागूऔषध ल्याउने र सेवन गर्ने प्रवृत्ति बढेका कारण समस्या समाधान गर्न कठीन भईरहेको पर्सा प्रहरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । ‘कुलतमा फसेकाहरु भारतमा गएर लागूऔषध सेवन गर्ने र कुनै पनि हालतमा ल्याउने प्रयास पनि गर्छन्,’ उनले भने, ‘यस्ता व्यक्तिलाई पहिचान र पक्राउ गर्ने एक मात्र संयन्त्र सूचना प्रणाली नै हो ।’

भारतसँगको खुला सीमा लागुऔषध तस्करीको मुख्य कारण बन्ने गरेको छ । सीमावर्ती क्षेत्रमा तस्करीको जालो सक्रिय रहँदा ठूलो संख्यामा युवा पुस्तामा लागुऔषध प्रयोग बढ्दो छ । यसले सामाजिक संरचना र स्वास्थ्यमा गम्भीर असर पारिरहेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । ‘सीमावर्ती क्षेत्रमा लागुऔषध समस्या गम्भीर बन्दै गएको छ र यसले समाजमा ठूलो चुनौती खडा गरेको छ,’ उनले भने, ‘प्रहरीको नियन्त्रण प्रयास निरन्तर रहे पनि समस्या समाधानका लागि व्यापक रणनीति आवश्यक देखिएको छ ।’

खुला सिमाना र लागूऔषध पहिचान गर्ने वैज्ञानिक प्रणालीको अभावले पनि तस्करी नियन्त्रणमा चुनौती थपिएको बस्नेतको भनाई छ । नेपालमा प्रतिबन्धित औषधिहरु भारतीय बजारमा सहजै उपलब्ध हुने भएकाले पनि नेपालमा नियन्त्रण गर्न निक्कै कठिनाई भई रहेको उनी बताउँछन् ।शंकर आचार्य /कान्तिपुर

Related posts

पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिङ्ग,बिरामीहरु वीरगन्ज धाउन बाध्य

MadhesKhabar

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

औद्योगिक राजधानी बनाउने अठोटसहित रुङटाको घरदैलो अभियान तीव्र

MadhesKhabar

Leave a Comment