Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिङ्ग,बिरामीहरु वीरगन्ज धाउन बाध्य

प्रमोद यादव

पर्सा,१४बैशाखःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ बागेश्वरी तित्रौनामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बिजोग अवस्थामा पुगेको छ ।दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव र उपकरणहरूपनि बिग्रिएर थन्किएका कारण प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प छ ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा रहेको रगत परीक्षण गर्ने मेशीन तीन महीनादेखि बिग्रिएर थन्किएको छ । उक्त मशीन मर्मतका लागि कसैले चासो नै देखाएको छैन ।ल्याबमा अहिले कीटको भरमा सीमित रोगहरूको मात्रै परीक्षण भइरहेको छ । मेशीन बिग्रिएको र त्यसको मर्मत नगर्दा मेशीनबाट गरिने परीक्षण सेवाहरू ठप्प रहदाँ सेवाग्राहीहरू समस्यामा परेका छन् ।

यस्तै एक्सरे मेशीन पनि चार महीनादेखि विद्युत् समस्याका कारण बन्द अवस्थामा छ । स्वास्थ्य केन्द्रको विद्युत् महसूल करीब पाँच लाख रुपैयाँ बक्यौता रहेकोले विद्युत प्राधिकरणले थ्री फेज लाइन काटेर सिंगल फेज लाइन मात्र चालु राखेकोले एक्सरे,इसिजी लगायतका सेवाहरू चार महिनादेखि बन्द छन् ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलेदेखि नै जनशक्तिको अभाव रहेको र त्यसमाथि प्राधिकरणले सिंगल फेज लाइन मात्र दिदाँ थ्री फेज लाइनबाट चल्ने उपकरणहरू प्रयोगविहिन अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब चन्द्रशेखर चौधरीले बताए ।

चार महिनादेखि मेशीन बिग्रिएको र विद्युत् समस्याले गर्दा केन्द्रमा अहिले सेवाग्राहीको चाप पनि घटेको उनले बताए । पर्सागढी नगरपालिका–६ का स्थानीय कन्हैया यादवले आवश्यक सेवा नपाएर स्वास्थ्य केन्द्रमा बिरामीहरू आउनै छाडेको र आउने बिरामीहरूपनि सेवा नपाएपछि वीरगन्ज धाउन बाध्य भएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चौधरीले नगरपालिकालाई केन्द्रका समस्याबारेमा जानकारी गराइसकेको बताए ।तर समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल नभएको गुनासो उनले गरे ।

Related posts

बाराबासीलाई खुशीको खबर : अब कलैयाबाटै सवारी चालकको लाइसेन्स वितरण हुने

MadhesKhabar

पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने प्रदेश सरकारकाे घाेषणा

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आगलागीबाट एक घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment