बारा,१२ जेठः मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीले ‘घुमौं मधेस, बुझौं प्रदेश’ भन्ने नाराका साथ गण्डकी यात्रा सम्पन्न गरेका छन् । जेठ ८ गतेबाट शुरु भएको यात्रा सोमबार सम्पन्न भएको हो ।
जेठ २८ देखि ३१ गतेसम्म मधेसमा आयोजना हुन लागेको ‘मधेस टुरीजम मार्ट’ मा पर्यटकीय नगरी पोखरासहित गण्डकी प्रदेशका विभिन्न पर्यटन व्यवसायीलाई समेट्ने लक्ष्यसहित गण्डकी यात्रा सम्पन्न गरिएको नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको नेतृत्वमा मधेसका ३५ जना व्यवसायी गण्डकी यात्रामा सहभागी थिए । महासंघका अध्यक्ष हिरा गौतमका अनुसार बन्दिपुर, पोखरा र सौराहामा स्थानीय व्यवसायीहरुसँग मधेसका पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि अन्तरक्रिया समेत गरिएको थियो ।
भ्रमणका क्रममा गण्डकीका पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा गण्डकी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मधेसका पर्यटकीय गन्तव्यसम्म ल्याउने सम्भावनाबारे छलफल गरिएको महासंघका अध्यक्ष गौतमले बताए ।
भ्रमण टोलीले बन्दीपुरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा सहितका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । पोखरामा पोखरा भ्रमण वर्ष २०२५/२६ का संयोजक गोपीबहादुर भट्टराई र सौराहामा क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाको नेतृत्वमा स्थानीय व्यवसायीहरुसँग अन्तर–प्रदेश पर्यटन प्रवद्र्धनका सम्बन्धमा छलफल गरेको थियो ।
सप्तरीदेखि पर्सासम्म मधेसका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि हुन लागेको मधेस टुरिजम मार्ट बाराको पर्सा राष्ट्रिय निकुञ्ज, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवती लगायतका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा केन्द्रित रहने जनाइएको छ । मार्टमा नेपालसहित भारतका विभिन्न शहरहरुबाट होटल व्यवसायी, टुर्स अपरेटर र डिजिटल कन्टेन्ट क्रियटरहरुलाई सहभागि गराउने उद्देश्य राखिएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना, नाट्टा मधेस प्रदेशको संयोजन र विभिन्न स्थानीय तह तथा संघसंस्थाको सहकार्यमा हुन लागेको मधेश टुरिजम मार्टले मधेश प्रदेशको पर्यटकीय गन्तव्य प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने नाट्टा मधेसका अध्यक्ष शर्माको भनाइ छ ।साभारःअनलाइनखबर

